निजी स्रोतमा कार्यरतलाई नगर शिक्षकमा नियुक्ति गरिने

मंसिर ४, २०८० |कान्तिपुर टीभी संवाददाता
निजी स्रोतमा कार्यरतलाई नगर शिक्षकमा नियुक्ति गरिने

धनगढी । धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोत शिक्षकहरूलाई नगर शिक्षकमा नियुक्ति गर्ने भएको छ ।

धनगढी उपमहानगरपालिका र निजी स्रोत शिक्षक संघर्ष समितिबीच सोमबार भएको सहमतिमा उपमहानगरले शिक्षक विज्ञापन खोलेर हाल निजी स्रोत शिक्षकहरूलाई परीक्षाका माध्यमबाट नगर शिक्षकमा नियुक्त गर्ने भएको हो ।

उपमहानगर र निजी स्रोत शिक्षकहरूबीच भएको सहमतिमा धनगढी उपमहानगरपालिकाले नगर शिक्षक वा सोसरहको शिक्षक विज्ञापन गर्दा पहिलो चरणमा हाल सामुदायिक विद्यालयको निजी/आन्तरिक स्रोतमा कार्यरत सबै शिक्षकबीच मात्र शिक्षक सेवा आयोगको खुला प्रतिस्पर्धात्मक परीक्षाको पाठ्यक्रमबमोजिम विज्ञापन गरी पदपूर्ति गर्ने निर्णय भएको छ ।

नगर शिक्षकको परीक्षा लिँदा निजी स्रोतका शिक्षकहरूको हकमा उमेर हद नलाग्ने र निजी स्रोत शिक्षकहरू मध्येबाट पदपूर्ति नभएमा वा विषयगत योग्यता नपुगी रिक्त रहेका पदमा मात्र खुला प्रतिस्पर्धात्मक परीक्षाबाट पदपूर्ति गर्ने सहमति भएको शिक्षा महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले जानकारी दिए ।

उपमहानगरले लिने परीक्षामा विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलाउने क्रममा सामुदायिक विद्यालयको निजी स्रोतमा कार्यरत शिक्षकहरू विस्थापित भई सेवा छुटेको भए त्यस्ता शिक्षकहरूलाई पनि नगर शिक्षकहरूले पनि प्रतिस्पर्धात्मक परीक्षामा भाग लिन पाउनेछन् । तर, ६० वर्ष उमेर पुगेका शिक्षकहरूले भने परीक्षामा भाग लिन नपाउने सहमति भएको शिक्षा महाशाखा प्रमुख खातीले बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.