विद्यार्थीलाई किताब बोक्न नपर्दा...

कार्तिक २०, २०८० |रासस
विद्यार्थीलाई किताब बोक्न नपर्दा...

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैंडाकोट ८ स्थित कालिका नमुना माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत दिनेश बोहोरा हिजोआज झोलामा कपी, कलम मात्र बोकेर विद्यालय जान्छन् ।

विद्यालयले कक्षा ३ सम्म पढ्ने विद्यार्थीले झोलामा किताब बोकेर विद्यालय जान नपर्ने गरी व्यवस्था मिलाएपछि उनलाई सजिलो भएको छ । पहिले सबै किताब ल्याउँदा गाह्रो हुने गरेकामा अहिले त्यो भार कम भएको उनी बताउँछन् ।

‘किताब र खाजा स्कुलमै पाइन्छ । अहिले कपी-कलम मात्र ल्याउँछु । सजिलो भएको छ,’ उनले भने । चालु शैक्षिक सत्रदेखि विद्यालयमा कक्षा ३ सम्म पढ्ने विद्यार्थीले झोलामा किताब बोकेर जान नपर्ने गरी व्यवस्था मिलाएको हो । विद्यालयको हरेक कक्षामा ‘बुक कर्नर’ बनाएर विद्यार्थीलाई आवश्यक पाठ्यक्रमका पुस्तक उपलब्ध गराएको छ । पहिले झोला गह्रौं भयो भन्ने विद्यार्थी अहिले खुसी भएर आउने गरेका छन् ।

कक्षा २ मा पढ्ने वर्षा भुसाल पनि विद्यालयको सुविधाले खुसी छिन् । शिक्षकले किताब नल्याउन र स्कुलकै किताब पढ्न भने पनि उनले कहिलेकाहीँ किताब लिएर आउने गरेको जनाइन् । ‘स्कुलमै किताब छ तर कहिलेकाहीँ एक/दुईवटा किताब ल्याउँछौं । हामीले कक्षामै किताब पाउँछौं ।

कक्षा ३ मा अध्ययनत आदित्य गौतमले आफ्नै कक्षामा भएको ‘बुक कर्नर’बाट जुन विषय अध्ययन गर्ने हो सोही किताब निकालेर पढ्ने गरेको जानकारी दिए । ‘किताब घरमा छुट्यो भन्न पनि पर्दैन, स्कुलमा पाइन्छ अझै आफ्नै कक्षामा हुन्छ, आफैं किताब निकाल्छु अनि साथीसँग मिलेर पढ्छौं ।’

बालबालिकालाई सहज सिकाइ गराउन कक्षाकोठामै पाठ्यपुस्तक उपलब्ध गराउने व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक प्रजानाथ कँडेलले जानकारी दिए । ‘बालबालिकालाई सहज तरिकाले सिकाइ गराउन यो व्यवस्था गरेको हो,’ उनले भने, ‘अलिकति आर्थिक भार थप भएको छ, अर्को शैक्षिक सत्रदेखि अझ सहज हुनेछ ।’

अहिले विद्यार्थीको घरमा ‘एक सेट’ पुस्तक छ भने उनीहरूले विद्यालयमा पनि सोही किताब पढ्न पाउँछन् । विद्यालयमा यस शैक्षिक सत्रमा दुई विद्यार्थीका लागि एक सेट पुस्तक उपलब्ध छ भने २०८१ को शैक्षिक सत्रदेखि प्रत्येक विद्यार्थीलाई एक सेट पुस्तक उपलब्ध गराउने तयारी गरिएको प्रधानाध्यापक कँडेलले जनाए ।

‘हामीले पहिले सोही कक्षामा पढेका विद्यार्थीले विद्यालयमा पुस्तक फिर्ता गराउन अभिभावकसँग सल्लाह पनि गरेका छौं, अब अर्को शैक्षिक सत्रदेखि सहज हुन्छ,’ उनले भने, ‘हामीले तीन कक्षासम्म मात्र नभई अब पाँच कक्षासम्म पनि त्यही प्रक्रियामा जाने योजना बनाउँदै छौं ।’

विद्यार्थीलाई सहज बनाउन विद्यालयले गरेको प्रयासलाई अभिभावकले पनि प्रशंसा गरेका छन् । गहुँगो झोला बोकेर विद्यालय जाँदा हुने सास्तीबाट विद्यार्थीले राहत पाएको अभिभावकको भनाइ छ ।