गणित शिक्षकको अभाव किन ?

कार्तिक १७, २०८० |नारायण किलम्बू
गणित शिक्षकको अभाव किन ?

काठमाडौं । विद्यालयदेखि विश्वविद्यालयसम्ममै गणित शिक्षकको अभाव छ । अझ त्यसमाथि गणितमा महिला जनशक्ति त झनै कम छ । 

शिक्षक अभावकै कारण यस विषयमा धेरै विद्यार्थी फेल हुने गरेका छन् । सोही कारण उच्चशिक्षामा गणित विषय अध्ययन गर्ने विद्यार्थी र जनशक्ति उत्पादन गर्न विश्वविद्यालयहरुले विशेष जोड दिनुपर्ने विज्ञहरूको सुझाव छ ।

मुलुकका १६ वटा विश्वविद्यालयमध्ये त्रिभुवन र काठमाडौंसहित ४ वटा विश्वविद्यालयमा गणित विषयमा स्नातकदेखि विद्यावारिधिसम्मको पढाइ हुन्छ । तिनमा ४ सय ८२ शिक्षक रहेकामा महिलाको सङ्ख्या २७ जना अर्थात् ३ प्रतिशत मात्रै छ । 

शिक्षक अभाव भइरहे पनि काठमाडौं उपत्यकाका क्याम्पसहरूमा यो विषय लिएर स्नातक पढ्ने विद्यार्थी एक सय जना पनि नरहेको विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ६ वर्षअघि गरेको  एक अध्ययनमा देखिएको छ । जसका कारण शिक्षण सिकाइमा पनि प्रभाव परेको प्राध्यापकहरूको बुझाई छ ।

शिक्षा मन्त्रालयले पाँच वर्षअघि गरेको अध्ययन अनुसार विद्यालयमा गणित, विज्ञान र अङ्ग्रेजीका ५३ हजार विषय शिक्षकको अभाव छ । कतिपय जिल्लामा गणित विषयको विज्ञापन गर्दासमेत आवेदन पर्दैन । शिक्षक अभावको असर कक्षा १० को एसईईमा देखिने गरेको छ । गत वर्ष ४ लाख ८५ हजार परीक्षार्थीमध्ये २ लाख ४ हजार अर्थात् ४२ प्रतिशतको डी र ई ग्रेड आएको थियो । 

अझ शैक्षिक गुणस्तर परीक्षण केन्द्रको पछिल्लो तथ्याङ्कले पनि गणितमा विद्यार्थीको सिकाइ उपलब्धि कमजोर देखाएको छ । गणित शिक्षा दैनिक जीवनसँग जोडिने गरी व्यावहारिक ढंगले अगाडि बढाउन सके  विद्यार्थीमा रुचि पनि हुने र सिकाइ उपलब्धि वृद्धि भई भविष्यका जनशक्ति तयार हुन टेवा पुग्ने शिक्षकहरूको बुझाई छ ।

विद्यालय होस वा विश्वविद्यालय, गणित विषयलाई प्रयोगात्मक तरिकाबाट पठनपाठन गराइएको छैन । पाठ्यक्रम,  विषयवस्तु र सिकाइमा सम्बन्ध नहुनु र पाठ्यक्रम अनुसार शिक्षकलाई प्रशिक्षित तुल्याउन नसक्नु लगायतका कारण गणितमा नयाँ जनशक्ति उत्पादन हुन सकेका छैनन् ।

गणित विषयलाई व्यावहारिक रूपमा शिक्षा दिन सके विद्यार्थीको आकर्षणसँगै सिकाइ उपलब्धि पनि हुने भएकाले यसतर्फ शिक्षक, विद्यालय र सरकारी निकायको पहल जरुरी छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।