कीर्तिपुरमा पीएचडी फेस्टिबल

आश्विन २३, २०८० |नारायण किलम्बू
कीर्तिपुरमा पीएचडी फेस्टिबल

काठमाडौं । उच्चशिक्षाको सबैभन्दा माथिल्लो तहको अनुसन्धानात्मक ज्ञान हासिल गर्ने विद्यावारिधि अर्थात् पीएचडी हो । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानले नेपालमै पहिलोपटक विज्ञान र प्रविधिका क्षेत्रमा विद्यार्थीले गरेका विद्यावारिधिसम्बन्धी जानकारी दिने उद्देश्यले पीएचडी फेस्टिबल नै आयोजना गरेको छ ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत वनस्पतिशास्त्र, प्राणीशास्त्र, भौतिकशास्त्र, फिजिक्स, केमेस्ट्री, वातावरण विज्ञान, माइक्रोबायोलोजी, फुड टेक्नोलोजीलगायत १२ वटा केन्द्रीय विभाग छन् । यी विभागअन्तर्गत विज्ञान र प्रविधिको क्षेत्रमा ४५६ जनाले विद्यावारिधि गरिरहेका छन् ।

त्यसमध्ये २६० विद्यार्थीको विज्ञान र प्रविधिको शोधार्थ प्रदर्शनीमा राखिएको छ । विद्यावारिधिका विद्यार्थीले गरिरहेका शोध तथा अनुसन्धानत्मक नयाँ ज्ञानबारे जानकारी दिन संस्थानले पहिलोपटक पीएचडी फेस्टबलको गरेको विज्ञान तथा प्रविधि अध्ययन संस्थान त्रिविका डिन प्राध्यापक डाक्टर विनिल अर्यालले जानकारी दिए ।

विज्ञान संकायका १७५ विद्यावारिधिका सुपरभाइजरको समेत उपस्थितिले शोधकर्ता र विद्यार्थीलाई पीएचडीमा प्रोत्साहनसँगै अनुसन्धानमूलक नयाँ ज्ञान र शिक्षा पाएको विद्यावारिधिका शाधार्थी अस्मिता श्रेष्ठ र समुद्र न्यौपानेको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायमा अहिले ८१३ जना विद्यावारिधिका विद्यार्थीमध्ये ४५६ जना विज्ञान तथा प्रविधि अध्ययन संस्थानकै छन् । ५३ वर्षअघिबाट विद्यावारिधि सुरु गरेको संस्थानले अहिलेसम्म २६२ जनालाई विज्ञान र प्रविधि क्षेत्रमा पीएचडी अवार्ड दिइसकेको छ । त्रिविबाट मात्र अहिलेसम्म करिब १५ सयले विद्यावारिधि हासिल गरेका छन् ।

फेस्टिबलमा विज्ञानका सबै विषयका शोधकर्ताको अनुभव साटासाटसँगै विद्यावारिधिका हरेक पक्षमा सैद्धान्तिक तथा व्यवहारीक पक्षबारे छलफल भएको शिक्षाविद् प्रा. डा. जगतकृष्ण पोखरेलले जानकारी दिए ।

विकसित मुलुकमा पीएचडी फेस्टिबल बेलाबेला हुने गरे पनि नेपालमा भने पहिलोपटक आयोजना गरिएकाले यसले छुट्टै सन्देश दिन सफल भएको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।