रूपन्देहीमा १२ कक्षा दिएर बसेका विद्यार्थीलाई होटल म्यानेजमेन्ट तालिम, सीप सिक्न चाहने युवालाई प्रत्यक्ष लाभ

असार १८, २०८२ |भुवन पाण्डे
रूपन्देहीमा १२ कक्षा दिएर बसेका विद्यार्थीलाई होटल म्यानेजमेन्ट तालिम, सीप सिक्न चाहने युवालाई प्रत्यक्ष लाभ

रूपन्देही। १२ कक्षाको परीक्षा सकिएपछि धेरै विद्यार्थी खाली रहन्छन् । तर, रूपन्देहीका विद्यार्थीहरूका लागि भने यो समय भविष्य निर्माणको अवसर बनेको छ । त्यहाँका करिब डेढ सय विद्यार्थीले अहिले होटल म्यानेजमेन्टको नि:शुल्क तालिम लिइरहेका छन् ।

हातमा चक्कु, अगाडि तरकारी । कसैको ध्यान कफी मेसिनमा, त कोही ग्राहकलाई सन्तुष्ट पार्ने कला सिक्दै । हेर्दा कुनै पाँच तारे होटलको भान्साजस्तो लाग्ने यो ठाउँ, वास्तवमा एउटा तालिम केन्द्र हो । जहाँ कक्षा १२ को परीक्षा दिएर बसेका करिब डेढ सय विद्यार्थीहरू, होटल व्यवस्थापनको व्यवहारिक ज्ञान लिइरहेका छन् । 

दश दिने निःशुल्क तालिमले विद्यार्थीहरूको सोचमा नयाँ आयाम थपिदिएको छ । धेरै विद्यार्थीलाई प्लस टु पछि के गर्ने भन्ने अन्योल थियो । त्यहाँ आएर कुकिङ, बारिस्टाको काम सिकेपछि अब पार्ट-टाइम काम गर्दै पढाइलाई अगाडि बढाउन सक्छु भन्ने आत्मविश्वास बढेको छ । कोही अब यही विषयमा डिग्री पढ्ने निर्णयमा पुगेका छन् ।

बुटवलको वेस्टर्न मेघा कलेजले आयोजना गरेको यो तालिममा सैद्धान्तिक ज्ञान मात्रै छैन् । त्यहाँ विद्यार्थीहरूले कुकिङ र बेकरीका परिकार बनाउन सिकेका छन् । फुड एण्ड वेभरेज सर्भिसको कला बुझेका छन् । कफी बनाउने सीप अर्थात् बारिस्टा तालिम, आतिथ्य सत्कार र स्विमिङको आधारभूत ज्ञान पनि हासिल गरेका छन् ।

यो तालिम केवल खाना बनाउन सिकाउनेमा मात्र सीमित छैन् । यसले समग्र हस्पिटालिटी उद्योगको जगबारे जानकारी दिन्छ । सेवामा उत्कृष्टता कसरी दिने, ग्राहकलाई कसरी आकर्षित गर्ने र होटलका हरेक विभागले कसरी एकआपसमा समन्वय गर्छन् भन्ने कुरा यहाँ सिकाइन्छ । महंगो मानिने यस्तो तालिमलाई निःशुल्क उपलब्ध गराउँदा, आर्थिक अवस्था कमजोर भएका तर सीप सिक्न चाहने युवाहरूले प्रत्यक्ष लाभ पाएका छन् ।

हातमा सीप भएपछि रोजगारीका लागि भौतारिनु पर्दैन । यो तालिमले यी युवाहरूलाई स्वरोजगार बन्न वा स्वदेश तथा विदेशका होटलहरूमा सहजै काम पाउन सक्ने आधार दिएको छ । किताबी ज्ञानसँगै सीपलाई जोडेर गरिएको यो पहलले युवाहरूलाई आत्मनिर्भरताको बाटोमा डोहोर्याउन पक्कै पनि मद्दत गर्नेछ ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।