क्लब विश्वकपमा युरोपेली हेभीवेटबीच प्रतिस्पर्धा

असार २१, २०८२ |खेल ब्युरो
क्लब विश्वकपमा युरोपेली हेभीवेटबीच प्रतिस्पर्धा

काठमाडौं । फिफा क्लब विश्वकपमा आज राति युरोपेली हेभीवेट टोलीबीच प्रतिस्पर्धा हुँदैछ। राति पौने १० बजे पेरिस सेन्ट जर्मेन पीएसजीले बायर्नसँग खेल्नेछ भने पौने २ बजे रियल मड्रिडले बोरुसिया डर्टमन्डको सामना गर्नेछ ।

अटलान्टाको मर्सिडिस बेन्च रंगशालामा पीएसजी र बायर्नको खेल गत सिजनको च्याम्पियन्स लिगको समूह चरणको पुन: प्रतिस्पर्धा जस्तै बन्नेछ । सो खेलमा बायर्न १- ० ले विजेता हुँदा आज पीएसजी त्यही खेलको बदला लिने योजनामा छ । युवा खेलाडीलाई स्पेनिस प्रशिक्षक एनरिकेले राम्रो सेपमा प्रशिक्षण दिइरहेका छन् । त्यसैले यो खेल एक विश्वविजेता प्रशिक्षक एनरिकेविरुद्ध युवा रणनीतिकार भिनसेन्ट कोम्पनीबीचको पनि हो । पछिल्ला १५ खेलमा एक मात्र हार बेहोरेको पीएसजीसँग जोआओ नेभेस र असरफ हाकिमी जस्ता क्षमतावान् खेलाडीले जस्तैसुकै डिफेन्सलाई कमजोर पार्न सक्छ । 

यता सन् २०१४ मा विश्वकप जित्दाका २ र बायर्नले च्याम्पियन्स लिग जित्दाका ९ खेलाडी अहिले यो टिममा छन् । त्यसैले बायर्न उपाधिको भोक भएको र विश्वका जस्तोसुकै टिमलाई हराउन सक्ने क्षमतावान् टिम हो ।

यस्तै, मेटलाइफ रंगशालामा हुने खेलमा सन् २०२४ को च्याम्पियन्स लिग फाइनालिस्ट मड्रिड र डर्टमन्डबीच भिडन्त हुनेछ । यो खेल पाँच पटकको विश्वविजेता र अहिलेसम्म क्लब विश्वकप जित्न नसकेको टिमबीचको पनि हो । तर मड्रिडले गत सिजनमा कुनै उपाधि जित्न नसकेका कारण उसलाई यो विश्वकप अर्को अवसर हो । मिडफिल्ड मेस्ट्रो जाभी एलन्सोको टिममा उच्च गति र रणनीति लचकताले विश्वकपमा सबै विपक्षीलाई डोमिनेट गरिरहेको छ । तर, अल हिलालसँगको निराशाजनक बराबरीले उसलाई विश्वकपका बाँकी खेलका लागि झस्काएको छ । 

तर, पछिल्ला पाँच खेलमा डर्टमन्डलाई हराएका कारण मड्रिडको आत्मविश्वास निकै उच्च छ । अब क्लब विश्वकपमा युरोपका पाँच र दक्षिण अमेरिकाको एक टोली मात्रै बाँकी छ । त्यसमा पनि जर्मनीका दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । गए राति भएको दुई क्वार्टरफाइनलबाट ब्राजिलको फ्लुमिनेन्स र चेल्सी सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।