कक्षा एघारमा भर्नाका लागि विद्यालयपिच्छे मनोमानी शूल्क, सिकाई र गुणस्तरभन्दा आकर्षक कार्यक्रम देखाएर विद्यार्थी तान्ने होडबाजी

असार २०, २०८२ |नारायण किलम्बू
कक्षा एघारमा भर्नाका लागि विद्यालयपिच्छे मनोमानी शूल्क, सिकाई र गुणस्तरभन्दा आकर्षक कार्यक्रम देखाएर विद्यार्थी तान्ने होडबाजी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा-एसईईको नतिजा सार्वजनिक भएसँगै कक्षा ११ मा भर्ना प्रक्रिया सुरू भएको छ । विद्यार्थी र अभिभावक राम्रो शिक्षण संस्था छान्न भौतारिइरहेका छन् । 

कुन विषय र कुन विद्यालय छनोट गर्ने भन्नेमा अहिले पनि धेरै विद्यार्थी र अभिभावक दुविधामा छन् । त्यसैले उच्चशिक्षाको भविष्य कोर्ने कक्षा ११ मा राम्रो विषय छनोट गरी अध्ययन गर्न विज्ञहरूले सुझाव दिएका छन् ।

माध्यमिक शिक्षा परीक्षा-एसईईको नतिजा सार्वजनिक भएपछि विद्यार्थी र अभिभावकमाझ खडा हुने ठूलो प्रश्न हो- कुन शिक्षण संस्था छान्ने ? कुन विषय पढ्ने ? कक्षा ११ मा विज्ञान, व्यवस्थापन, कानुन, मानविकी, शिक्षा, प्राविधिक तथा व्यवसायिक शिक्षालगायतका विषय अध्ययन गर्न पाउने विकल्प छन् । 

भविष्यमा सबै खालका विषय पढ्न पाउने भएकाले अधिकांश राम्रा विद्यार्थीहरूको रोजाइ भने विज्ञान समूहतिर हुने गरेको छ । धेरै विद्यार्थीले विज्ञान र व्यवस्थापनका विषय रोज्ने गरेका छन् । तर पहिलाजस्तो संकायगत नभएकाले भविष्यमा कुन क्षेत्रमा जाने हो, त्यसतर्फ ध्यान दिई उचित विषय रोज्न र कुनै दुविधामा नपर्न शिक्षकहरूले आग्रह गरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डकाअनुसार कक्षा १२ सम्म पढाइ हुने शिक्षण संस्था ५ हजार ६ सयको हाराहारीमा छन् । विद्यालयपिच्छे भर्ना शुल्क फरक-फरक छ । संविधानमै कक्षा १२ सम्म नि:शुल्क भनिए पनि सामुदायिक विद्यालयमै कुनै न कुनै बहानामा शुल्क असुल्ने गरिएको छ । 

निजी विद्यालयले त झन् मनपरी रूपमा चर्को शुल्क असुल्ने गरेका छन् । माध्यामिक विद्यालयको नियमन र शुल्क निर्धारण गर्ने निकाय स्थानीय तह भए पनि भर्ना अभियान सुरू भैसक्दा समेत काठमाडौंसहित अधिकांस स्थानीय तहहरूले शुल्क निर्धारण नै गरेका छैनन् ।

शिक्षण संस्थाहरूको जोड गुणस्तरीय र व्यावहारिक शिक्षामा हुनुपर्ने हो । तर पछिल्लो समय निजी विद्यालयहरू विद्यार्थीको सिकाई र गुणस्तरभन्दा पनि आकर्षक कार्यक्रम देखाएर विद्यार्थी तान्ने होडबाजीमा छन् ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।