कांग्रेस बैठकमा आरोप प्रत्यारोपदेखि व्यक्तिगत छेडखानीसम्म

असार २१, २०८२ |प्रकाश बम
कांग्रेस बैठकमा आरोप प्रत्यारोपदेखि व्यक्तिगत छेडखानीसम्म

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्वका विषयमा खुला बहस र छलफल हुने परम्परा छ । पार्टीका बैठकहरूमा नेतृत्वको आलोचना मात्र गर्न होइन, असहमति व्यक्त गर्ने स्वतन्त्रता पनि छ । तर पछिल्लो समय भने स्वतन्त्रताका नाममा आन्तरिक अनुशासन र मर्यादाभन्दा बाहिर नेताहरूबीच आरोप-प्रत्यारोप र व्यक्तिगत छेडखानी समेत बढेको छ । झन्डै १० महिनापछि बसेको केन्द्रीय समितिको बैठकमा यस्तै दृश्य देखिएका छन् ।

नेपाली कांग्रेसको सोमबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा छलफलका लागि १३ वटा एजेन्डा तय भएका छन् । तर बैठकको बहस मूल विषयभन्दा बाहिर छ । वैचारिक छलफलको सट्टा नेताहरू आरोप-प्रत्यारोप र व्यक्तिगत आक्षेपमा उत्रिरहेका छन् । यसले बैठकको माहोल नै तनावपूर्ण बनेको छ । बैठकको पहिलो दिननै नेता शेखर कोइरालाले केन्द्रीय सदस्य बन्न पार्टी विधानमै रहेको १० वर्ष क्रियाशील सदस्य बनेको हुनुपर्ने व्यवस्था लत्याउँदै विनोद चौधरीलाई एकै पटक केन्द्रीय सदस्य किन बनाइयो भन्ने प्रश्न गर्नुभएको थियो । त्यसको प्रतिवाद गर्दै चौधरीले पार्टीमा कोइरालाले गुटबन्दी गरेको र चुनावमा आफूलाई हराउन लागेको आरोप मात्र लगाउनुभएन उहाँको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै कारबाहीको माग नै गर्नुभयो ।

नेता कोइरालामाथि आक्रामक भएका चौधरीविरुद्ध नेता गुरुराज घिमिरे, केदार कार्कीदेखि विद्यार्थी र तरुण नेताहरूले सामाजिक सञ्जालमार्फत प्रतिवादमा उत्रिए । केन्द्रीय समितिको बैठकमा दिनेश कोइराला लगायतका नेताले पार्टीले चन्दा लिए बापत कसैलाई नेता मान्न आफूहरू बाध्य नभएको चेतावनी दिए ।

बैठकको तेस्रो दिन मोहन बस्नेत आफ्नो धारणा राख्ने क्रममा महामन्त्री गगनकुमार थापाविरुद्ध व्यक्तिगत रूपमा खनिनुभयो । टेरामक्स प्रकरणमा महामन्त्री थापाले संसद्भित्र र बाहिर आफूविरुद्ध खुलेरै लागेको र त्यही कारण अख्तियारले छानबिन गरेको आरोप बस्नेतले लगाउनुभयो । त्यसको जवाफमा महामन्त्री थापाले फोहोरी अभिव्यक्तिको संज्ञा दिनुभयो । यो शृङ्खला यतिमै रोकिएन । बुधबारको बैठकमा अजयबाबु सिवाकोटीले बस्नेतका अभिव्यक्तिलाई गैरजिम्मेवार, अराजक र हिंस्रकको संज्ञा दिँदै पार्टीको रेकर्डबाट हटाउन माग गर्नुभयो ।

केन्द्रीय समिति बैठकमा मात्र होइन कांग्रेस नेताहरूबीचको आरोप-प्रत्यारोप संसद् बैठक, सार्वजनिक मञ्च र सामाजिक सञ्जालमा समेत देखिने गरेको छ । संसद्‌मा बजेटमाथिको छलफलमा सांसद कान्छाराम तामाङले उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहमाथि कटाक्ष गर्दै अर्को पटक निर्वाचनमा पराजित भएको हर्ने चाहाना व्यक्त गर्नुभयो । यसरी व्यक्तिगत तवरमा नेताहरू आरोप प्रत्यारोपमा उत्रिएपछि केन्द्रीय समिति बैठकमा यस्ता गतिविधि रोक्नुपर्ने माग उठेको छ ।

नेतृत्वको आलोचना गर्नु र फरक धारणा राख्नु कांग्रेसको विशेषता जस्तै हो । तर व्यक्तिगत लाञ्छना लगाउने, गालीगलौज गर्ने र प्रतिशोध साँध्ने प्रवृत्ति बढ्दा कांग्रेसको सार्वजनिक छविमा नकारात्मक असर परेको छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।