धादिङ । आफुले पढाउने विषयको प्रयोगात्मक परीक्षामा कति पूर्णाङ्क हो भन्ने समेत हेक्का नराख्ने शिक्षकको त्रुटीले गर्दा धादिङको नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयको २४ जना विद्यार्थीको एसईई ग्रेड घटुवा भएको छ ।
एसईई परीक्षामा कम्प्युटर विषयको प्रयोगात्मक परीक्षणमा विषय शिक्षक र विद्यालय प्रशासनले गम्भीर लापरबाही गरेको कारण नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका २४ परीक्षार्थीको ग्रेड घटुवा भएको हो ।
विद्यालयले कम्प्युटर विषयको प्रयोगात्मकतर्फ ५० पूर्णाङ्कको मुल्याङ्गकन गर्नु पर्नेमा २५ पूर्णाङ्कमै मुल्याङ्कन गरेर परीक्षा बोर्डमा पठाएको कारण कम्प्युटर विषय लिएका २४ जना सबै विद्यार्थीको प्रयोगात्मकमा 'सी' प्लस वा 'सी' ग्रेड मात्र आएको छ । यसको प्रभाव विद्यार्थीको समग्र नतिजामा परेको छ ।
सबै विषयमा 'ए' प्लस नतिजा ल्याएका नीलकण्ठ ३ पहरेचौताराका आयुस भट्टको कम्प्युटर विषयको प्रयोगात्मकतर्फ 'सी' प्लस मात्र आएको कारण उनको समग्र नतिजा ४ जीपीए आउन बाट बञ्चित भए । यसले उनलाई छात्रवृत्ती उत्कृष्ट शिक्षालयमा पढ्न पाउने अवसरबाट समेत बञ्चित हुने अवस्था आएको परिवारको गुनासो छ ।
विषय शिक्षक र प्रधानाध्यापकको लापरबाहीले भट्ट ४ जीपीए पाउनबाट बञ्चित भएका हुन् भने अन्य २३ जनाको पनि ग्रेड घटेर आएको हो । यसले विद्यार्थीको मानसिकतामा समेत गम्भीर आघात पुगेको अभिभावकको गुनासो छ ।
यस घटनाले विद्यार्थीका अभिभावकहरू आक्रोशित बनेका छन् । उनीहरूले तत्काल नतिजा सच्याउन पहल गर्न, विद्यालय प्रशासन र विषय शिक्षकमाथि कारवाही हुनुपर्ने बताएका छन् ।
सामान्यतः प्रयोगात्मक परिक्षाको विषय शिक्षकले प्राप्ताङ्क तयार गरेर विद्यालय प्रशासनमा बुझाउने र त्यसलाई प्रधानाध्यापकले प्रमाणीकरण गरी परीक्षा बोर्डमा पठाउने प्रक्रिया हुन्छ । यसैको आधारमा गम्भीर त्रुटी गर्नेमाथि कारवाही हुनुपर्ने उनीहरूको तर्क छ ।
अहिले विषय शिक्षक प्रकास श्रेष्ठ सम्पर्क बाहिर छन् भने विद्यालयका प्रधानाध्यापक धुर्व अधिकारीले त्रुटी भएको स्वीकार गरेका छन् उनले त्रुटी सच्याएर विद्यार्थीको पुनरावलोकनको प्रकृया थालिएकोले छिट्टै जीपीए सुधार भएर आउने बताएका छन् ।
नीलकण्ठ बालमन्दिर माध्यमीक विद्यालय नमुना विद्यालय समेत हो । शिक्षक र विद्यालयको लापरबाहीका कारण २४ जना विद्यार्थीको समग्र जीपीए घटेको कुरालाई शिक्षा मन्त्रालय र परीक्षा नियन्त्रण कार्यालयले गम्भीर रूपमा लिएर पुनरावलोकन गर्न जरूरी छ भने यस्तो गम्भीर त्रुटी गर्नेका प्रति कारवाही गर्नुपर्ने देखिन्छ जसले आगामि दिनमा पुन यस्तो त्रुटी हुनबाट जोगाउन सकियोस् ।