मध्यपश्चिम विश्वविद्यालयको गेटमा विद्यार्थीको धर्ना

आश्विन १४, २०८० |कान्तिपुर टीभी संवाददाता
मध्यपश्चिम विश्वविद्यालयको गेटमा विद्यार्थीको धर्ना

सुर्खेत । सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतको कृषि तथा वन विज्ञान संकायका विद्यार्थी आठ दिनदेखि आन्दोलित छन् । भेरीगंगा नगरपालिका ११, रामघाटमा रहेको कृषि तथा वन विज्ञान संकायको केन्द्रीय क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले पठनपाठन वीरेन्द्रनगरमा सार्नुपर्ने सातबुँदे कारणसहित विश्वविद्यालयको केन्द्रीय क्याम्पसको मूल गेटमा धर्ना बसेका हुन् ।

रामघाटमा सुरक्षाको जोखिम रहेको, अध्ययन र प्रयोगात्मक सिकाइका लागि पूर्वाधार नभएको, क्याम्पसको होस्टेल नहुँदा भाडामा बस्ने विद्यार्थीमाथि स्थानीयबाट दुर्व्यवहार हुने गरेको, यातायातको सुविधा नभएकोलगायत कारण देखाउँदै क्याम्पस वीरेन्द्रनगरमै सार्नुपर्ने माग राखेका हुन् । वीरेन्द्रनगरमै पठनपाठन गराउँछु भनेर भर्ना लिएको तर पछि क्याम्पस रामघाट सारिएको विद्यार्थी प्रताप बोहोराको भनाइ छ ।

विश्वविद्यालयले भने रामघाटबाट वीरेन्द्रनगरमा क्याम्पस सार्नेबाहेक अन्य माग पूरा गर्न सकिने जनाएको छ । रामघाटमा संरचनाहरु बनिसकेको अवस्थामा कुनै पनि हालतले क्याम्पसलाई वीरेन्द्रनगर सार्न नसकिने कृषि तथा वन विज्ञान संकायका डिन विमललाल कर्णले जनाए । रामघाट वीरेन्द्रनगरदेखि झन्डै ४५ किलोमिटर टाढा पर्छ । क्याम्पसमा विभिन्न जिल्लाका ८७ विद्यार्थी अध्ययनरत छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.