काठमाडौं । नेपाल खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्ण विद्यार्थी अधिवक्ताको लाइसेन्स परीक्षा दिनबाट वञ्चित भएका छन् ।
खुला विश्वविद्यालयले २०७५ सालबाट तीनवर्षे एलएलबी पठनपाठन सुरु गरेको थियो । अहिलेसम्म अनलाइन र भर्चुअल माध्यमबाट डेढ सय विद्यार्थीले एलएलबी उत्तीर्ण गरेका छन्। तर, ती विद्यार्थीहरुले अहिलेसम्म नेपाल कानुन व्यवसायी परिषद्ले लिने अधिवक्ता लाइसेन्स परीक्षामा सहभागी हुन पाएका छैनन् ।
मापदण्डअनुसारको पाठ्यक्रम तयार गरि पठनपाठन गरे पनि मापदण्ड नपुगेको भन्दै परिषद्ले लाइसेन्स परीक्षामा सहभागी हुन नदिएको विश्वविद्यालयको आरोप छ ।
नेपाल खुला विश्वविद्यालयको उपकुलपति शिलु मानन्धर वज्राचार्य भन्छिन्, ‘हाम्रो तीनवर्षे एलएलबी कार्यक्रममा सफल भएका विद्यार्थीलाई नेपाल बार काउन्सिलको परीक्षामा सहभागी हुन वञ्चित गराएको अवस्था छ ।’
नेपाल कानुन व्यवसायी परिषद्ले भने खुला विश्वविद्यालयको एलएलबी कार्यक्रमको पाठ्यभारसँगै मापदण्ड नपुगेकाले परीक्षामा सामेल गराउन नमिल्ने जनाएको छ ।
विद्यार्थी कपिल कठायत प्रश्न गर्दै भन्छन्, ‘चार सय पूणाङ्कको प्रयोगात्मक शिक्षा हुनुपर्यो भन्ने कुरा छ । तर २०७७ सालमा ल्याएको नियमावलीले हामी २०७५ सालमा भर्ना भएका विद्यार्थीलाई कसरी लागु हुन्छ ?’
विश्वविद्यालयले भने काउन्सिलको सुझावअनुसार पाठ्यक्रममा संशोधन गरी मापदण्ड पुयाएर पठनपाठन गर्दा पनि विद्यार्थीलाई लाइसेन्स परीक्षामा सामेल नगराएको आरोप लगाएको छ ।