कक्षा १२ को नतिजा आएको २ महिनाभित्रै स्नातकको भर्ना गरिसक्नुपर्ने

असार १९, २०८० |नारायण किलम्बू
कक्षा १२ को नतिजा आएको २ महिनाभित्रै स्नातकको भर्ना गरिसक्नुपर्ने

काठमाडौं । कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको दुई महिनाभित्र विश्वविद्यालयहरुले स्नातक तहको भर्ना गरिसक्नुपर्ने भएको छ । विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीलाई रोक्न विद्यार्थी भर्ना प्रक्रिया छिटो सुरु गर्न लागेको हो । यसका लागि राष्ट्रिय शैक्षिक क्यालेन्डरलाई अन्तिम रुप दिएको आयोगले विद्यार्थीको प्रवेश परीक्षा र भर्नामा एकरुपता आउने विश्वास लिएको छ ।

कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको ६० दिनभित्र स्नातक तहको भर्ना गरिसक्ने गरी विश्वविद्यालय अनुदान आयोगले उच्चशिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डर तयार गरेको हो । यसअनुसार वार्षिक प्रणालीमा सञ्चालन हुने शैक्षिक कार्यक्रमको पढाइ ढिलोमा मंसिर १ बाटै सुरु गरी भदौ १५ सम्म सक्ने र असोज १५ भित्र परीक्षा लिइसक्ने गरी क्यालेन्डर बनाइएको छ । सेमेस्टर प्रणालीमा भने कक्षा प्रारम्भ गरेको ५ महिनाभित्र नतिजा प्रकाशन गरिसक्ने उल्लेख छ ।

विश्वविद्यालयपिच्छे फरक-फरक शैक्षिक क्यालेन्डरका कारण विद्यार्थीको प्रवेश परीक्षा, भर्नाको समय र मितिमा एकरुपता छैन । जसका कारण विद्यार्थी र अभिभावक अन्योलमा पर्ने गरेका छन् । चिकित्सा तथा इन्जिनियरिङमा त प्रवेश परीक्षाको नतिजा प्रकाशन, म्याचिङलगायत कारण भर्ना प्रक्रिया झन् ढिला हुने गरेको छ । यसलाई पनि छिटोछरितो पार्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुले सुझाव दिएका छन् ।

हरेक वर्ष करिब दुई लाख विद्यार्थी कक्षा १२ पास हुन्छन् भने उच्च शिक्षा अध्ययनका लागि एक लाख १० हजारभन्दा बढीले बर्सेनि वैदेशिक अध्ययन अनुमतिपत्र लिने गरेका छन् । समयमै भर्ना प्रक्रिया सुरु गरी स्तरीय शिक्षा दिन सके ती विद्यार्थी स्वदेशमै रहने वातावरण तयार पार्ने उद्देश्यले राष्ट्रिय शैक्षिक क्यालेन्डर तयार पारिएको छ । तर यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको विश्वविद्यालयका उपकुलपतिहरुको भनाइ छ । यसका लागि राजनीतिक प्रतिबद्धता आवश्यक रहेको पोखरा विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्यालको भनाइ छ ।

शैक्षिक क्यालेन्डरमा एकरुपता नहुँदा शैक्षिक गुणस्तरमा समेत ह्रास आउनुका साथै अन्तर्राष्ट्रियस्तरमा नेपालको उच्चशिक्षाको विश्वसनीयतासमेत गुमिरहेको छ । यसलाई जोगाउन पनि शैक्षिक क्यालेन्डरको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।