काठमाडौं विश्वविद्यालयको ३१ ‌औं दीक्षान्त समारोह, पहिलो चरणमा २ हजार २०९ विद्यार्थी दीक्षित

मंसिर २४, २०८२ |पुजन धिताल
काठमाडौं विश्वविद्यालयको ३१ ‌औं दीक्षान्त समारोह, पहिलो चरणमा २ हजार २०९ विद्यार्थी दीक्षित

काभ्रे । काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह पहिलो चरणमा २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित भएका छन् ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति सुशीला कार्कीको अध्यक्षतामा सम्पन्न दीक्षान्त समारोहमा स्कुल अफ आर्ट्समा ८३, स्कुल अफ एजुकेसनमा २ सय ९४ र स्कुल अफ इन्जिनियरिङ ३ सय ४० विद्यार्थी दीक्षित भएका हुन् । त्यस्तै स्कुल अफ ल ३६, स्कुल अफ म्यानेजमेन्ट ३ सय ७८, स्कुल अफ मेडिकल साइन्सेज ८ सय ८१ र स्कुल अफ साइन्स १ सय ९७ गरी जम्मा २,२०९ विद्यार्थी दीक्षित भएका छन्।

तहअनुसार दीक्षित हुनेमा पीएचडी, डीएम र एमसीएच ७ जना, स्नातकोत्तर ३ सय ९७ जना, पोस्ट-ग्राजुएट डिप्लोमा पीजीडीमा ५० जना र स्नातक १ हजार ७ सय २८ जना रहेका छन्। लिङ्गगत रूपमा दीक्षितमध्ये पुरूष ५२.२४ प्रतिशत र महिला ४७.७६ प्रतिशत छन्।

यस चरणमा अष्ट्रेलिया, अस्ट्रिया, बंगलादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलङ्का, स्विडेन, संयुक्त राज्य अमेरिका र भियतनाम गरी १७ देशका १ सय ९६ विदेशी विद्यार्थी दीक्षित भएका छन्। आगामी जुन वा जुलाईमा दोस्रो चरणको दीक्षान्त समारोह आयोजना हुने विश्वविद्यालयले जनाएको छ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।