एक प्रदेश, एक सरकारी मेडिकल कलेजको संघीय सरकारको योजना अलपत्र

निर्माणाधीन बुटवल मेडिकल कलेजको कामै अघि बढेन
मंसिर २७, २०८२ |अमृता अनमोल
एक प्रदेश, एक सरकारी मेडिकल कलेजको संघीय सरकारको योजना अलपत्र

बुटवल । संघीय सरकारले आर्थिक वर्ष २०७५/०७६ सालमा एक प्रदेश, एक सरकारी मेडिकल कलेजको योजना अघि बढाएको थियो । 

त्यसअनुसार लुम्बिनी प्रदेशको तिलोत्तमा नगरपालिकामा १९ अर्ब लागतमा बुटवल मेडिकल कलेज निर्माण गर्ने योजना बन्यो । २०७५ सालमा मेडिकल कलेजको कार्यालय उद्घाटन पनि भयो । तर, अहिलेसम्म फिल्ड स्तरको काम समेत भएको छैन ।

बुटवल मेडिकल कलेज निर्माणस्थल रूपन्देहीको तिलोत्तमा नगरपालिका-१ र ८ को शंकरनगर सामुदायिक वन र करहिया सामुदायिक वनमा छ । यही क्षेत्रमा संघीय सरकारले सात वर्षअघि १९ अर्ब रुपैयाँ लगानीमा मेडिकल कलेज निर्माणको काम अगाडि बढाएको हो । 

वनको २०० विगाहा क्षेत्रफलमा १ हजार क्षमताको अस्पताल बनाउने सरकारी योजना थियो । सोही अनुरूप ८ चैत २०७५ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन तहकै सरकार प्रमुख जुटेर मेडिकल कलेजको कार्यालय भव्य रूपमा उद्घाटन भयो । 

बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका नाममा सात वर्षदेखि कार्यालय सञ्चालनमा छ । कर्मचारीहरू आउ-जाउ गरेका छन् । तर, पाँच वर्षमा बन्ने भनिएको मेडिकल कलेजको फिल्डस्तरको काम अझै भएको छैन । वनको जग्गा मेडिकल कलेजको नाममा नआउँदा अहिलेसम्म मेडिकल कलेज कागजमा सिमित भएको हो । फिल्डस्तरको काम नभएपछि कर्मचारीहरू सोध्न पुग्नेलाई कागजी व्याख्या सुनाउँछन् ।

बुटवल मेडिकल कलेज बन्ने भनेको ठाउँमा घना वन छ । यही वन क्षेत्रभित्र एक हजार विद्यार्थी पढ्ने भवन र पाँच सय डाक्टर-नर्स बस्ने दुईवटा ठूला भवनहरू बनाउने योजना थियो । वनको जग्गा प्राप्त नहुँदा मेडिकल कलेजको विस्तृत परियोजना प्रतिवेदन डीपीआर अझै बनेको छैन । 

बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाले कहिले डीपीआर त कहिले संयोजनका नाममा लाखौं खर्च गरेको छ । प्रगति हेर्दा अहिलेसम्म ५० विघा वनको जग्गा मेडिकल कलेजको नाममा आएको छ । वनको भोगाधिकार नपाएपछि एक हजार वेडको बनाउने भनिएको मेडिकल कलेज ६०० वेडको बनाउने गरी संशोधन गरिएको छ । तर, त्यही काम पनि फिल्ड स्तरमा भएको छैन । यसले स्थानीय निराश छन् ।

नागरिकलाई स्वास्थ्य शिक्षा तथा स्वास्थ्यको सहज पहुँचमा पुर्‍याउने भन्दै सरकारी स्तरको बुटवल मेडिकल कलेज बनाउने योजना बनेको हो । सात वर्षसम्म फिल्डस्तरको काम नभएको मेडिकल कलेजको कहिलेदेखि कसरी काम हुन्छ र कहिले बन्छ अन्योल छ । यो क्षेत्र पूर्व अर्थमन्त्री विष्णु पौडेलको चुनावी क्षेत्र हो भने पूर्व मन्त्री बालकृष्ण खाँडको गृहनगर हो । 

कार्यालय उद्घाटन गर्दा प्रधानमन्त्री ल्याउने यी दुई नेताहरूले आफ्नै क्षेत्रमा मेडिकल कलेज निर्माणको काम कसरी अगाडि बढाउने भन्नेमा समन्वय गरेको देखिँदैन । यसले मेडिकल कलेज निर्माण थप अन्योलमा छ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।