गोरखामा प्राध्यापकलाई विद्यार्थी र सहकर्मीले हेलिकप्टर चढाएर गरे भव्य बिदाइ

मंसिर २४, २०८२ |राजु चौधरी|भीमलाल श्रेष्ठ
गोरखामा प्राध्यापकलाई विद्यार्थी र सहकर्मीले हेलिकप्टर चढाएर गरे भव्य बिदाइ

गोरखा । तपाईँ हामी सबैलाई आफूले दीर्घ सेवा गरेको संस्थाबाट रिटायर्ड भएपछि सम्मानपूर्ण बिदाइ होस् भन्ने लाग्छ नि होइन ? 

गोरखामा एकजना प्राध्यापकको बिदाइ कार्यक्रम यस्तै यादगार भएको छ । स्थापनाकालदेखि एउटै विद्यालयमा ३७ वर्ष अध्यापन गराएका प्रधानाध्यापकलाई हेलिकप्टर चढाएर बिदाइ गरी विद्यालय व्यवस्थापन समिति, विद्यार्थी र सहकर्मीहरूले उहाँको बिदाइलाई यादगार बनाइदिएका हुन् । पूर्वविद्यार्थीहरूले पैसा संकलन गरेर प्रधानाध्यापकलाई हेलिकप्टर चढाएर काठमाडौं हुँदै हवाई जहाजमार्फत चितवन पुर्‍याएका छन् ।

१९ वर्षकै कलिलो उमेरमा इन्द्रबहादुर उपरकोटी गोरखाको दुर्गम ठाउँ धार्चे गाउँपालिका-२ रून्चेत पुग्नुभयो । उहाँले त्यहाँ गण्डकी माविमा झन्डै ३७ वर्ष अध्यापन गराउनुभयो । आफ्नो ऊर्जाशील जीवन विद्यालयलाई सुम्पिएका उपरकोटीलाई सेवाबाट निवृत्त हुँदै गर्दा त्यसको सम्मानस्वरूप भव्य र सधैं सम्झनामा रहिरहनेगरी बिदाइ गरियो । 

५७ वर्षीय उपरकोटीलाई विद्यार्थी, अभिभावक र स्थानीयले हेलिकप्टर चढाएर मंगलबार बिदाइ गरे । जीवनसंगिनीलाई साथमा लिए बिदाइ कार्यक्रममा पुगेका उपरकोटीलाई गोरखाबाट हेलिकप्टरले काठमाडौं पुर्‍यायो । एकरात काठमाडौंमा बिताएर बुधबार बुद्ध एयरको जहाज चढेर उहाँ गृहजिल्ला चितवन झर्नुभयो । 

बुधबार दिउँसो भरतपुर-१०, स्थित ढुंगाना चोकमा रहेको घरमा पुगेका उपरकोटी निकै थकित देखिए पनि आफूले कल्पनै नगरेको बिदाइ पाउँदा त्यसलाई अभिव्यक्त गर्ने कुनै शब्द नै पाइरहनुभएको थिएन । २०४५ सालमा स्थापना भएको यो विद्यालयमा उपरकोटीले स्थापनाकालदेखि सेवानिवृत्त हुँदासम्म ३६ वर्ष ८ महिना २२ दिन सेवा गर्नुभयो । 

विद्यालयलाई प्राथमिकबाट माध्यमिक तहसम्म पुर्याउन उहाँको भूमिका महत्वपूर्ण छ । यसबीचमा स्थानीय सरकार, शैक्षिक निकायहरूबाट उहाँले धेरैपटक विद्यालयलाई उत्कृष्ट बनाउन सफल भएकोमा सम्मानित पनि  हुनुभयो । विद्यालयको उपलब्धिमा उहाँ आफ्नो मात्र मेहनत नभई सिंगो विद्यालय परिवार र समाजलाई नै दिनुहुन्छ । अनि उहाँको योगदानलाई विद्यालयका पूर्वविद्यार्थी यसरी सम्झन्छन् ।

एउटै विद्यालयबाट पढाएर निवृत्त बनेका उपरकोटी गणित र अंग्रेजी विषय पढाउनुहन्थ्यो । सेवाका दौरान उहाँले रुन्चेतका तीन पुस्तालाई पढाउन भ्याउनुभयो । उहाँले पढाएका विद्यार्थीहरू देशविदेश पुगेर उच्च तहमा काम गरिरहेका छन् । उहाँको योगदानको मूल्यांकन गर्दै सम्मानस्वरूप पूर्वविद्यार्थीहरूले रकम उठाएर २ लाख ५ हजारमा हेलिकप्टर भाडामा लिएर बिदाइ गरेका हुन् । 

उहाँलाई छिमेकी विद्यालयहरूले समेत सम्मानपत्रले सम्मान गरे । सम्मानस्वरूप पाएका खादाले मात्रै एउटा बोरा भरियो । पुर्खौली घर गोरखा भए पनि उहाँको बसोबास हाल चितवनको भरतपुरमा रहँदै आएको छ । 


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।