विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँ : प्रधानमन्त्री कार्की

मंसिर २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताउनुभएको छ ।

बुधबार धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोहमा बोल्दै उहाँले विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अन्त्य गर्न पनि सरकारले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था परिमार्जन गर्न लागेको बताउनुभएको हो । 

सो विश्वविद्यालयका कुलपति समेत रहनुभएकी प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीलाई कुलपति नराख्ने गरी ऐनमा परिमार्जन गर्न सरकारले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको नेतृत्वमा शिक्षाविद्, विश्वविद्यालयहरुका कुलपति, उपकुलपति र अन्य सरोकारवालाहरुसँग गम्भीर परामर्श गरिरहेको जानकारी समेत दिनुभयो । 

नेपालको उच्च शिक्षामा राजनीतिकरणको परम्परालाई अन्त्य गर्न सरकार यस काममा लागेको प्रधानमन्त्री कार्कीको भनाइ थियो । त्यस अवसरमा प्रधानमन्त्री कार्कीले नेपालको उच्च शिक्षा सुधारमा काठमाडौं विश्वविद्यालयको खेलेको भुमिकाको प्रशंसा गर्दै त्यसको अनुशरण गर्दै अघि बढ्न अन्य विश्वविद्यालयहरूलाई पनि आग्रह गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.