फिलिपिन्सबाट एमबीबीएस गरेका १३ विद्यार्थी चार महिनादेखि मेडिकल काउन्सिल धाउँदै

६ वर्षे एमबीबीएस कोर्ष मान्यतामा काउन्सिलको अडान, विद्यार्थी आन्दोलन चर्कियो
मंसिर २६, २०८२ |नारायण किलम्बू
फिलिपिन्सबाट एमबीबीएस गरेका १३ विद्यार्थी चार महिनादेखि मेडिकल काउन्सिल धाउँदै

काठमाडौं । फिलिपिन्सबाट एमबीबीएस पूरा गर्न दुई वर्षे प्रि-मेडिसिनसहित सात वर्षे कोर्ष हुनुपर्ने मापदण्ड छ । 

मापदण्ड पूरा नगरेको भन्दै मेडिकल काउन्सिलले लाइसेन्स परीक्षामा सहभागी हुन नदिएपछि विद्यार्थीहरू चार महिनादेखि काउन्सिल धाइरहेका छन् । काउन्सिलले थप ६ महिना इन्टर्नसिप नेपालमै गराउने भनेर गरेको निर्णय पनि कार्यान्वयन नभएको विद्यार्थीको गुनासो छ ।

फिलिपिन्समा एमबीबीएस पुरा गर्न सात वर्षको कोर्ष पुरा गर्नुपर्ने प्रावधान छ। जसअनुसार विद्यार्थीले दुई वर्षे प्रि-मेडिसिन कोर्ष अर्थात् बीएस बायोलोजी अध्ययनपश्चात्‌मात्र चार वर्ष मेडिसिन र एक वर्ष इन्टर्नसिप गर्नुपर्छ । तर फिलिपिन्सको साउथवेस्टर्न विश्वविद्यालयबाट एक वर्षे बिएससहित ६ वर्षको कोर्ष गरेका १३ विद्यार्थी अहिले मेडिकल काउन्सिलबाट उपाधिको मान्यतासहित लाइसेन्स परीक्षामा सहभागी हुन माग गर्दै चार महिनादेखि धाइरहेका छन् । काउन्सिलले भने बिएस बायोलोजीमा क्रेडिट आवर नपुगेको भन्दै मान्यता दिएको छैन ।

मेडिकल काउन्सिलले फिलिपिन्समा बिएस बायोलोजी दुई वर्षको हुने प्रावधान भए पनि विद्यार्थीले एक वर्षको मात्र अध्ययन गरेकाले क्रेडिट आवर नपुगेको जनाएको छ । स्वास्थ्य मन्त्रालय र विद्यार्थीको दबाबपछि काउन्सिलले फेरि नेपालका अस्पतालमा थप ६ महिनाको इन्टर्नशीप गर्न दिने र त्यसपछि लाइसेन्स परीक्षामा सहभागी गराउने निर्णय पनि गर्यो । तर रजिष्ट्रारले उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्यान्वयन गरेका छैनन्।

काउन्सिलले सन् २०२० मा कोभिडको समयमा पनि फिलिपिन्सबाट बीएस बायोलोजीमा १८ महिना अनलाइन अध्ययनसहित एमबीबीएस गरेका विद्यार्थीलाई मान्यता दिने निर्णय गरेको थियो ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।