जुनसुकै विषय पढे पनि शिक्षक लाइसेन्स परीक्षामा सहभागी हुन पाउने व्यवस्थाप्रति शिक्षाविद्को असन्तुष्टि

जेष्ठ २२, २०८० |नारायण किलम्बू
जुनसुकै विषय पढे पनि शिक्षक लाइसेन्स परीक्षामा सहभागी हुन पाउने व्यवस्थाप्रति शिक्षाविद्को असन्तुष्टि

काठमाडौं । सामुदायिक विद्यालयमा शिक्षक हुन अध्यापन अनुमति पत्र लाइसेन्स अनिवार्य छ । लाइसेन्स लिन माध्यमिक शिक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा दश महिने तालिम अनिवार्य भएकोमा सरकारले यसलाई खुकुलो बनाइ अबदेखि जुनसुकै विषय अध्ययन गर्ने व्यक्ति पनि लाइसेन्स परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ । सरकारले बजेट वक्तव्यमार्फत गरेको यो व्यवस्थाप्रति शिक्षा शास्त्र संकायका विद्यार्थी र शिक्षाविद् भने असन्तुष्ट छन् ।

शिक्षक जनशक्ति तयार गर्न त्रिभुवन विश्वविद्यालय अन्तर्गत ५ सय ५० वटा क्याम्पसमा शिक्षा विषयको पढाइ हुन्छ । यसबाहेक अन्य विश्वविद्यालयमा पनि शिक्षा विषयको अध्ययन अध्यापन भइरहेको छ । शिक्षा शास्त्र संकायका विद्यार्थी कमजोर रहेकाले शिक्षक सेवा आयोगले लिएको परीक्षामा धेरै विद्यार्थी फेल भएपछि सरकारले लाइसेन्स परीक्षामा खुकुलो बनाउने निर्णय गरेको छ । माध्यामिक शिक्षा परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा दश महिने तालिम लिएका वा शिक्षाशास्त्र संकाय अध्ययन गरेका विद्यार्थीले मात्र लाइसेन्स परीक्षामा सहभागी हुन पाउने व्यवस्थाको सट्टा जुनसुकै विषय अध्ययन गरेकाले पनि लाइसेन्स परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ । शिक्षक सेवा आयोगको नियमावली संशोधन गर्न भने बाँकी छ ।

शिक्षण पेसामा संलग्न हुनेसँग शिक्षासम्बन्धी आधारभूत ज्ञान, सिप र दक्षता हुनुपर्छ । त्यसका लागि शिक्षा विषय वा दश महिने तालिम आवश्यक हुन्छ । शिक्षा शास्त्र संकाय र शिक्षा विषयलार्इ बलियो बनाउनुको सट्टा लाइसेन्स परीक्षामा खुकुलो बनाइनुले शिक्षक जनशक्ति र शिक्षा विषयलार्इ धरासायी बनाउन खोजिएको शिक्षक, विद्यार्थीको आरोप छ ।

त्यसो त विश्वको प्रचिलित व्यवस्थामा शिक्षक बन्न शिक्षा विषयमा उच्चशिक्षा वा तालिम अनिवार्य छ । तर, शिक्षक जनशक्ति व्यवस्थापनमा सरकारले गरेको नयाँ योजनाले समग्र शिक्षा प्रणालीमा नकारात्मक असर पर्ने विज्ञको बुझाइ छ ।

शिक्षण कला, ज्ञान र दक्षता नभएका व्यक्तिलार्इ शिक्षक लाइसेन्स उपलब्ध गराइए मुलुककै शिक्षा क्षेत्रमा नकारात्मक असर नपर्ला भन्न सकिन्न । 


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।