चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति पारित

जेष्ठ २०, २०८० |नारायण किलम्बू
चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति पारित

काठमाडौं । चिकित्सा शिक्षालाई थप व्यवस्थित बनाउँदै पाठ्यक्रममा एकरूपता कायम गर्न सरकारले चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तय गरेको छ । 

चिकित्सा शिक्षा आयोगको हालै बसेको बैठकले चिकित्सा शिक्षा नीति पारित गरेको हो । यसले समग्र चिकित्सा शिक्षा सुधारसँगै गुणस्तर वृद्धि हुने अपेक्षा गरिएको छ ।

चिकित्सा शिक्षाका प्रमाणपत्र तहदेखि विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्मको शिक्षण सिकाई फरक–फरक खालको छ । शिक्षण संस्थाको सन्तुलित विकास र विकेन्द्रीकरणसमेत हुन सकेको छैन । अर्कोतर्फ आयुर्वेदका विभिन्न विधा, आम्ची र होमियोप्याथतक जस्ता स्वास्थ्य शिक्षा चिकित्सा शिक्षाको मूलधारमा जोडिएका छैनन् । 

जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिने यस्तो शिक्षामा गुणस्तर कायम गरी स्तरीय सेवासँगै पाठ्यक्रम, जनशक्ति व्यवस्थापनमा एकरूपता कायम गर्न आयोगले चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति पारित गरेको हो ।

महँगो भएकै कारण चिकित्सा शिक्षामा सबैको पहुँच छैन । अहिले ल्याइएको नीतिमा देशका लागि आवश्यक स्वास्थ्य शिक्षण संस्थाको स्थापना, समान वितरण प्रणाली, जनशक्ति उत्पादन, नागरिकको पहुँच पुर्‍याउनेदेखि स्तर मापन गर्नेसम्मका विषय समेटिएको छ । 

त्यसैगरी ऐनमा भएको व्यवस्थाअनुसार नाफामूलक शिक्षण संस्थालाई सेवामूलकमा रूपान्तरण गर्ने विषयसमेत नीतिमा राखिएको छ । यसबाट समग्र स्वास्थ्य शिक्षाको विकाससँगै एकरूपता कायम गर्न मद्दत पुग्ने मेडिकल कलेज सञ्चालकहरू बताउँछन् ।

त्यसो त यसअघि केदारभक्त माथेमा नेतृत्वको उच्चस्तरीय कार्यदले चिकित्सा शिक्षासम्बन्धी नीति तर्जुमा गरी सरकारलाई बुझाए पनि कार्यान्वयनमा आउन सकेको थिएन । अहिले बनेको नीतिले भने शिक्षण विधि, शिक्षक फ्याकल्टीको व्यवस्थापन र विद्यार्थीको सिकाई उपलब्धि वृद्धिमा एकरूपता बनाउँदै नेपालको चिकित्सा शिक्षालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन गुणात्मक सुधार आउने अपेक्षा गरिएको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।