चिकित्सा आयोगले काठमाडौंका दुई शैक्षिक संस्थालाई सम्बन्धन दिँदै

जेष्ठ ९, २०८० |कान्तिपुर टीभी संवाददाता
चिकित्सा आयोगले काठमाडौंका दुई शैक्षिक संस्थालाई सम्बन्धन दिँदै

काठमाडौं । चिकित्सा शिक्षा आयोगले काठमाडौंका दुईवटा शैक्षिक संस्थालाई प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालनका लागि सम्बन्धन दिने निर्णय गरेको छ ।

आयोगले मंगलबार पत्रकार सम्मेलन गरी मनमोहन मेमोरियल इन्स्टिच्युट अफ मेडिकल साइन्स र काठमाडौं मोडेल अस्पताललाई नर्सिङ कार्यक्रम सञ्चालनका लागि सम्बन्धन दिने निर्णय गरेको हो । चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालनका लागि ७० वटा संस्थालाई आशयपत्र प्रदान गर्ने निर्णय समेत भएको छ । आयोगले नर्सिङ, सामान्य चिकित्सा, रेडियोग्राफी, फिजियोथेरापी, फार्मेसी, मेडिकल ल्याब टेक्नोलोजी कार्यक्रम सञ्चालनका लागि आशयपत्रको अनुमोदन गर्ने निर्णय गरेको हो ।

आयोगले चिकित्सा शिक्षा नीति, जनशक्ति प्रक्षेपण र चिकित्सा शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुपलाई समेत स्वीकृत गरेको उपाध्यक्ष श्रीकृष्ण गिरीले जानकारी दिए । बैठकले ४३ करोड ४२ लाख रुपैयाँको कार्यक्रम तथा बजेटसमेत स्वीकृत गरेको छ । चिकित्सा शिक्षा स्नातक तह अध्ययनका लागि यस वर्ष ७ सय १ जनाले विदेश जाने अनुमतिपत्र लिएको र ४ सय ६ जना विदेशी विद्यार्थी नेपाल आएको आयोगले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.