अभिभावक र शिक्षकको सक्रियतापछि स्तरीय बन्दै दोलखाका सामुदायिक विद्यालय

जेष्ठ ६, २०८० |केदार शिवाकोटी
अभिभावक र शिक्षकको सक्रियतापछि स्तरीय बन्दै दोलखाका सामुदायिक विद्यालय

दोलखा । सामुदायिक विद्यालयको अवस्था पछिल्लो समय खस्कदो छ । खासगरी सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाप्रति अभिभावक जिम्मेवार नबन्दा समस्या झन् जटिल बन्दै गएको छ । बालबालिकाप्रति शिक्षक जत्तिकै अभिभावक पनि जिम्वेवार बन्ने हो भने सामुदायिक विद्यालयलाई अब्बल बनाउन सकिन्छ ।

दोलखाको भीमेश्वर नगरपालिका ७ मा रहेको कुटिडाँडा माध्यमिक सामुदायिक विद्यालय हो यो । कुनै संस्थागत विद्यालयभन्दा कम छैन यो विद्यालय । यस्को मुख्य कारण हो सामुदायिक विद्यालयमा अभिभावकको मोह । हरेक महिना आमाहरुलाई विद्यालयमा बोलाउने र विद्यालयको अवस्थासहित बालबालिकाको सिकाई उपलब्धी अभिभावकलाई जानकारी गराइन्छ ।

दोलखाको कुटीडाँडा माविका विद्यार्थी मनिसा केसी भन्छिन्, ‘ पढाइ पहिलको भन्दा धेरै राम्रो हुँदै गइरहेको छ । शिक्षकहरुले पनि एकदम मिहिनेत गरेर पढाउनु हुन्छ । अभिभावकहरुले पनि बढी चासो दिनुहुन्छ । अन्य विद्यालयका पनि पढ्न यहाँ आउछन् ।’

त्यस्तै अभिभावक खीमकुमारी श्रेष्ठ भन्छिन्, ‘बच्चाहरुको पढाइ बुझ्नका लागि हामी विद्यालय आउँछौं । ’

यस विद्यालयमा हरेक कक्षा कोठामा एउटा बाकस राखिएको छ । यसमा प्रत्येक दिन विद्यार्थीको मुल्याङकन गरेर शिक्षकले एउटा नाम हालिदिन्छन् । र मासिक रुपमा बाकसभित्र रहेको चिटमा जसको नाम धेरै हुन्छ त्यस विद्यार्थीलाई विद्यालयले सम्मान गर्ने गरेको छ । यस्तै बालबालिकालाई गुणस्तरिय शिक्षा दिन शिक्षकले पढाउने मात्र होईन सामग्रीसहित सिकाई अभियान पनि सञ्चालन गरेको छ ।

कुटिडाँडा माविकका प्रध्यानाध्पाक शंकरलाल श्रेष्ठ भन्छन्, ‘अभिभावकसँग पनि हामी मासिक बैठक गर्छौं । कक्षागत बैठक गर्छौं । समस्या के हो बुझ्छौं । साथै हाम्रो शिक्षक साथीहरुले विद्यार्थीलाई अब पढाउने होइन सिकाउन लाग्नु भएको छ । ’

दोलखाको मकैबारी आफैमा व्यवसायीक तरकारी खेतीका लागि प्रख्यात छ । तर महिनाको एक दिन अभिभावले बारीको काम थाती राखेर विद्यालयमा भेला हुन्छन् । जस्का कारण विद्यालयको र बालबालिकाको हौसला बढने गरेको छ ।


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।