अब घरबाटै लिन सकिनेछ ‘नो अब्जेक्सन सर्टिफिकेट’

जेष्ठ १, २०८० |कान्तिपुर टीभी संवाददाता
अब घरबाटै लिन सकिनेछ ‘नो अब्जेक्सन सर्टिफिकेट’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) ले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको सुरुवात गरेको छ ।

सोमबार एनओसी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको सुरुवात गरिएको हो । आजदेखि लागु हुनेगरी शाखाले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र डाउनलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाएको हो ।

कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नो अब्जेक्सन सर्टिफिकेट चाहिने विद्यार्थीले अभिभावक गुहार्नु नपर्ने र घरमै बसेर फर्म भर्न सक्ने तथा आफैँले सर्टिफिकेट प्रिन्ट आउट गर्नसक्ने व्यवस्था सुरु हुनु प्रशंसनीय भएको जनाए । उनले अबदेखि विद्यार्थीले घरबाटै एनओसी फर्मका लागि लाग्ने शुल्क पनि तिर्नसक्ने व्यवस्था गरिएको जानकारी दिए । यो प्रक्रिया पूरा हुन अझै ४० प्रतिशत काम बाँकी रहेको र चाँडै नै शतप्रतिशत काम हुनेगरी तयारी भइरहेको उनको भनाइ छ ।

‘यो सेवालाई निरन्तरता दिनुपर्ने, नियमित गर्नुपर्ने आवश्यकता छ । शिक्षा मन्त्रालयको रेकर्डमा ल्याउनुपर्ने आवश्यकता थियो, निर्देशिका जारी भएर त्यो परिस्थिति आएको पनि छ, कति विद्यार्थी गए भन्ने अध्ययन अभिलेख रहनेछ,’ उनले भने, ‘गएका विद्यार्थीहरु कुन विश्वविद्यालयमा छन्, के छन् भन्ने अवस्थालाई ट्रयाक गरेर काम गर्ने विश्वास लिएको छु ।’

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले आजदेखि फेसलेस, पेपरलेस र क्यासलेसको सुरुवात हुनु नेपालीहरुका लागि खुशीको कुरा भएको जनाए । उनले आफू नेपाललाई अब फेसलेस, पेपरलेस र क्यासलेस बनाउनुपर्छ भन्ने अभियानका रुपमा लागेको उनको भनाइ छ। उनले अब अन्य निकायहरुले पनि आफ्ना सेवा अनलाइन प्रणालीबाट सुरु गर्नुपर्नेमा जोड दिए ।

वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ को दफा ७ को उपदफा (३) र (४) मा सेवाग्राहीलाई विद्युतीय प्रणालीको प्रयोग गरी आफ्नो वैदेशिक अध्ययन स्वीकृति पत्र डाउलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाउनुपर्ने व्यवस्था छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.