नियम बमोजिम छात्रवृत्ति नदिने विद्यालयलाई कारबाही गर्ने मेयर शाहको चेतावनी

वैशाख ९, २०८० |कान्तिपुर टीभी संवाददाता
नियम बमोजिम छात्रवृत्ति नदिने विद्यालयलाई कारबाही गर्ने मेयर शाहको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निजी विद्यालयले महानगरपालिकको नियम बमोजिम छात्रवृत्ति नदिए कारबाही गर्ने चेतावनी दिएका छन् । नयाँ शैक्षिक सत्र सुरु हुने बेलामा महानगरपालिकाले विद्यालयहरुलाई नियमअनुसार छात्रवृत्ति दिन निर्देशन दिएको हो ।

काठमाडौं महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावलीले निजी तथा संस्थागत विद्यालयहरुले प्रत्येक कक्षामा प्रथम भएकालाई शतप्रतिशत र द्वित्तीय हुने विद्यार्थीलाई ५० प्रतिशत शुल्क मिनाहा गर्नुपर्छ । तर निजी विद्यालयहरुले यसको पालना गरेका छैनन् । महानगरपालिकाले समेत यसको अनुगमन गर्न सकेको छैन ।

विद्यालयले कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने नियम छ ।

छात्रवृत्ति पाएकामध्ये कम्तीमा ५० प्रतिशत छात्रा हुनुपर्ने प्रावधान छ । प्रत्येक विद्यालयले छात्रवृत्ति प्रदान गरिएको विवरण महानगरको शिक्षा विभागमा पेस गर्नु पर्ने व्यवस्था भएपनि निजी विद्यालयहरुले पालना गरेका छैनन् ।

छात्रवृत्ति सम्बन्धित सम्पूर्ण जानकारी पारदर्शी गर्न विद्यालयको वेबसाइट तथा सूचना पाटीमा टाँस गरी अभिभावक र विद्यार्थीलाई सूचित गराउन पनि महानगरपालिकाका प्रमुख शाहले आग्रह गरेका छन् । नियमअनुसार छात्रवृत्ति नदिइएमा काठमाडौं महानगरको कल सेन्टर ११८० मा कल गरेर गुनासो टिपाउन पनि शाहले आह्वान गरेका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.