गुणस्तरीय शिक्षामा कर्णाली प्रदेश पछाडि (भिडियो रिपोर्ट)

चैत्र १८, २०७९ |महेश केसी
गुणस्तरीय शिक्षामा कर्णाली प्रदेश पछाडि (भिडियो रिपोर्ट)

रुकुम पश्चिम । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई शुक्रबारदेखि सुरु भएको छ । देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा सुरु परीक्षामा ५ लाख १६ हजार ५ सय ९१ परीक्षार्थी सहभागी छन् । ६ वटा अनिवार्य विषयका प्रश्नपत्र प्रदेश अनुसार फरक-फरक तयार पारिएको छ ।

कुनैबेला फलामे ढोकाका रुपमा लिइने यो तहको परीक्षामा यसपटक कर्णाली प्रदेशका दश जिल्लाका सामुदायिक तथा निजी विद्यालयका गरी कुल ३८ हजार ९ सय ७० जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा १४ सय २५ ले बढी हो । कर्णालीका परीक्षा केन्द्रहरुमा शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

जिल्लाभरका विभिन्न माध्यमिक विद्यालयहरुलाई नै परीक्षा केन्द्र तोकिएपनि सोही विद्यालयका परीक्षार्थीका लागि भने छिमेकी विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ ।

देशको कुल साक्षरता दर ७६ दशमलब २ प्रतिशत रहेकोमा कर्णाली प्रदेशको साक्षरता राष्ट्रिय औसतकै हाराहारीमा रहेको जनगणना २०७८ को प्रतिवेदनले देखाएको छ । तर गुणस्तरीय शिक्षाको सवालमा भने कर्णाली पछाडि परेको वास्तविकता हो । यो अवस्थालाई सुधार गर्न विद्यार्थीलाई परीक्षा केन्द्रित सिकाइभन्दा पनि उनीहरुका लागि पठनपाठनको वातावरण बनाउनेतर्फ सरोकारवालाहरु लाग्नुपर्ने देखिन्छ । 


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।