शिक्षाबाट वञ्चित भएकाहरूलाई समेट्दै बुटवलको ज्ञानोदय मावि

चैत्र ३, २०७९ |अमृता अनमोल
शिक्षाबाट वञ्चित भएकाहरूलाई समेट्दै बुटवलको ज्ञानोदय मावि

बुटवल । सामान्यतया विद्यार्थी १० बजे विद्यालय जान्छन् र ४ बजे फर्कन्छन् । तर, बुटवलको ज्ञानोदय माविमा भने साँझ परेपछि मात्रै विद्यार्थी पढ्न जान्छन् र राति फर्कन्छन् । 

बाल्यकालमा पढ्न नपाएका र दिउँसोमा पढ्न नभ्याउने व्यक्तिलाई औपचारिक शिक्षा दिन यो विद्यालय सञ्चालन भएको हो । बुटवल २ मैना बगरकी ३६ बर्सिया गीता बुढाप्रीति दिनभर गार्मेन्ट उद्योगमा काम गर्छिन् । कक्षा ८ बाट पढाई छुटेपछि विद्यालय नगएकी गीताले हिजोआज भने साँझ आराम गर्ने समय बचाएर बुटवल उपमहानगर हाटबजारस्थित ज्ञानोदय रात्रि माविमा अध्ययन गर्छिन् । छुटेको पढाइ अघि बढाउँदै उनी यसै पाली एसइई दिने तयारीमा छिन् ।

बुटवलको ज्ञानोदय रात्रि माविमा जब साँझ पर्न थाल्छ तब, विद्यार्थीको जमघट सुरु हुन्छ । यहाँ साँझ साढे ५ देखि साढे ८ बजेसम्म पढाई हुन्छ । विद्यालय उमेरमा पढ्न नपाएका तथा दिउँसोमा पढ्न नपाउने व्यक्तिलाई औपचारिक शिक्षा दिन भन्दै रात्रि कक्षा सञ्चालन भएको हो । साँझमा पढ्न पाइने भएपछि दिनभर मजदुरी गर्नेहरूलाई धेरै सजिलो भएको छ । 

२०२१ सालमा प्रौढ शिक्षालयका रूपमा सञ्चालन भएको विद्यालय २०३८ सालदेखि रात्रि माविका रूपमा चल्दै आएको छ । ६ देखि १० कक्षासम्म पढाइ हुने ज्ञानोदय यहाँ हाल १ सय ९ जना विद्यार्थी छन् । ९ जना शिक्षकले नियमित विद्यालय आउन र पढाइमा धेरै समय दिन नसक्ने विद्यार्थीलाई पढाउँछन् । 

गरिबी, उमेर र समयका कारणले औपचारिक शिक्षाबाट वञ्चित भएकाहरूलाई बुटवलको ज्ञानोदय रात्रि मावि सहयोगी साबित भएको छ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।