पुनर्निर्माणको सुस्त गति : रातो स्टिकर टाँसिएको भवनमै पठनपाठन (भिडियो)

फाल्गुन २०, २०७९ |नारायण किलम्बू
पुनर्निर्माणको सुस्त गति : रातो स्टिकर टाँसिएको भवनमै पठनपाठन (भिडियो)

काठमाडौं । २०७२ को महाभूकम्पले क्षतिग्रस्त भएका १५ सयभन्दा बढी सामुदायिक विद्यालय अझै पुनःनिर्माण हुन सकेका छैनन् । स्थानीय निकायसँगको विवाद, विद्यालयको नाममा लालपुर्जा नहुनु र कम विद्यार्थी भएका विद्यालयको निर्माण हुन नसकेको हो । जोखिमपूर्ण भवनमै पठनपाठन गर्नुपर्दा धेरै समस्या उत्पन भएको सम्बन्धित विद्यालयहरूले जनाएका छन् ।

भक्तपुर दरबार क्षेत्रस्थित विद्यार्थी निकेतन मावि भूकम्पले क्षतिग्रस्त भएपछि बस्न नहुने भनेर रातो स्टिकर टाँसिएको थियो । तर, ३ सय ५० विद्यार्थी अध्ययनरत विद्यालय पुननिर्माणका लागि पटक-पटक प्रयास गर्दासमेत भक्तपुर नगरपालिकाले अनुमति नदिँदा जोखिमपूर्ण भवनमै पठनपाठन भइरहेको छ । क्षतिग्रस्त भवन ७ वर्षदेखि पालले छोपेर राखिएको छ ।

भूकम्पले क्षतिग्रस्त देशभरमा १५ सय विद्यालय अझै पुनःनिर्माण हुन सकेका छैनन् । जोखिमपूर्ण भवनमा पठनपाठन गर्नुपर्दा विद्यार्थी कम उपस्थित हुनेमात्र होइन, शिक्षण सिकाईमा समेत असर परिरहेको छ । विद्यार्थी कम भएका, समायोजन भएका, आफ्नै जग्गा जमिन नभएका र कतिपय विवादकै कारण विद्यालय पुनःनिर्माण हुन सकेका छैनन् ।

अहिलेसम्म ७ हजार ५ सय विद्यालयमा मात्र पुनःनिर्माणको काम भएको छ ।

२०७२ को महाभूकम्पले देशभरका ३१ जिल्लाका ९ हजार सामुदायिक विद्यालय क्षतिग्रस्त भएका थिए । ती सबै तीन वर्षभित्र पुनःनिर्माण गर्ने घोषणा गरिएको थियो । तर, ७ हजार ५ सयमात्र पुनःनिर्माण भए । क्षतिग्रस्त विद्यालय पुनःनिर्माणमा ३४ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।

जोखिमपूर्ण भवनमा पठनपाठन हुँदा शिक्षण सिकाइसमेत प्रभावित भइरहेकाले विद्यालय पुनःनिर्माणलाई चाँडो सम्पन्न गर्नुपर्ने देखिएको छ ।

सम्बन्धित समाचार...

भूकम्पले क्षतिग्रस्त विद्यालयका भवन अझै बनेनन्
उद्घाटनको दुई वर्ष : कहिले चढ्न पाइएला धरहरा ? (भिडियो रिपोर्ट)


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement