उद्घाटनको दुई वर्ष : कहिले चढ्न पाइएला धरहरा ? (भिडियो रिपोर्ट)

फाल्गुन १९, २०७९ |कान्तिपुर टीभी संवाददाता
उद्घाटनको दुई वर्ष : कहिले चढ्न पाइएला धरहरा ? (भिडियो रिपोर्ट)

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ६० प्रतिशत पनि निर्माण नसकिँदै २०७८ वैशाख ११ गते हतार-हतार धरहरा उद्घाटन गरेका थिए । तर, दुई वर्ष बितिसक्दा पनि न त सर्वसाधारणले धरहरा चढ्न पाएका छन्, न निर्माणले नै पूर्णता पाएको छ । अझै धरहरा टावर र अन्य संरचनाको २० प्रतिशत काम सकिन बाँकी रहेको भन्दै पाँचौं पटक समय थप्ने तयारी भइरहेको छ ।

धरहरा चढ्न भनेर पाँचथरदेखि काठमाडौं आएकी ७० वर्षीया टीका सरा रहर पूरा गर्नै नपाई फर्कँदैछिन्। झापाका पुण्यप्रसाद चौलागाईंले पनि टाढैबाट धरहरा हेरेर चित्त बुझाए ।

झट्ट हेर्दा सुन्धारास्थित यो धरहराको निर्माण पूर्ण रुपमा सम्पन्न भइसकेजस्तो लाग्न सक्छ । तर मुख्य टावरका साथै टक्सार संग्रहालय, तीन तलाको बेसमेन्ट पार्किङ तथा सौन्दर्यकरणका साथै पुरानो भत्किएको धरहरा क्षेत्रमा अझै थुप्रै काम गर्नै बाँकी छ । त्यसैका लागि निर्माण कम्पनी जीआइइपीसी-रमन कन्स्ट्रक्सन र शहरी विकास तथा भवन निर्माण विभागले तयारी गरिरहेका छन् । कोभिड महामारीका साथै सामग्री अभावलाई मुख्य कारण देखाएर पटक पटक म्याद थप गरिएकोमा कोभिड महामारी नहुँदासमेत निर्माणले गति लिएको छैन ।

२०७७ सालमा सक्ने गरी सम्झौता गरिए पनि धरहरा निर्माण अझै सकिएको छैन ।

२०७२ फागुन ४ गते तत्कालीन प्रधानमन्त्री ओलीले धरहरा पुनःनिर्माणका लागि 'मेरो धरहरा मै बनाउँछु' अभियान चलाएका थिए । यसअनुसार विभिन्न संघसंस्था र व्यक्तिबाट संकलित रकममा सरकारले थपेर तीन अर्ब आठ करोड लागतमा धरहरा बनाइएको हो । यस परियोजनामा ४२ रोपनी क्षेत्रफलको सुन्धारासहितको सम्पूर्ण क्षेत्रलाई आधुनिक रुपमा दिइएको छ । २०७७ सालमा सक्ने गरी सम्झौता गरिए पनि निर्माण अझै सकिएको छैन । त्यसमा पनि धरहराका सरंचना कसरी र कसले सञ्चालन गर्ने भन्नेबारे अन्योल छ ।

ऐतिहासिक सुन्धारा क्षेत्रलाई आकर्षक पार्कको रुप दिइएको धरहरा परिसरको निर्माण कहिले सकिन्छ र धरहरा चढ्ने सर्वसाधारणको रहर कहिले पूरा हुन्छ, अझै यकिन छैन । त्यसैले निर्माणका क्रममा देखिएको स्थानीय असन्तुष्टि र अवरोधलाई समाधान गर्दै बाँकी काम चाँडो सक्न सम्बन्धित निकायले पहल गर्नुपर्ने देखिन्छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.