महिला ट्राई नेसन्स : भारतमाथि नेपालकाे सान्त्वना जित

कार्तिक १०, २०८२ |खेल ब्युरो
महिला ट्राई नेसन्स : भारतमाथि नेपालकाे सान्त्वना जित

काठमाडौं । भारतलाई हराउँदै नेपालले महिला ट्राई नेसन्स अन्तर्राष्ट्रिय प्रतियोगितामा सान्त्वना जित हात पारेको छ। 

सिलोङको जवाहरलाल नेहरू रंगशालामा साेमबार साँझ सावित्रा भण्डारीले दोहोरो गोल गरेपछि नेपाल २-१ ले विजयी भएको हो । लगातार दुई जित निकाल्दै इरानले प्रतियोगिताको उपाधि भने जितिसकेको छ। घरेलु टिमविरूद्ध खेलको दोस्रो मिनेटमा नै गोल गरेर नेपालले स्वप्निल सुरूआत गरेको थियो। 

डिफेन्डर विमला विकको लामो पास सावित्राले नियन्त्रणमा लिएर गोल गरेकी हुन्। यससँगै घरेलु टिम दबाबमा आयो । खेलको ३३औं मिनेटमा भारतले गोलको निकै सुनौलो मौका गुमायो। ग्रेस डाङ्मीको क्रसलाई फरवार्डले भेट्न नसकेपछि विमलाले क्लियरको प्रयास गरेकी थिइन्। उक्त बलमा कप्तान संगीता सबफोरको प्रहार बाहिरियो। 

३५औं मिनेटमा सावित्राको प्रहार सिल्की हेमले मुस्किलले बचाएकी थिइन्। पहिलो हाफको दुई मिनेट बाँकी रहँदा पान्थोइ चानुले उत्कृष्ट डिफेन्स गरेपछि नेपालको गोल प्रयास असफल भयो । दीपा शाहीको थ्रु बललाई सावित्राले नियन्त्रणमा लिएर दोस्रो बारमा गरेको लोअर प्रहारलाई पान्थोइ चानुले रक्षा गरेकी थिइन् । रिबाउन्डमा विमलाले डिफेन्सिभ लाइनबाट गरेको लामो प्रहारसमेत पान्थोइ चानुले बचाएकी हुन्।

दोस्रो हाफको ६२औं मिनेटमा नेपालले दोस्रो गोल गर्‍यो । पेनाल्टी बक्सनजिकै पाएको फ्रि-किकमा सावित्राले गोल गर्दै नेपाललाई २-०को अग्रता दिलाएकी हुन्। तर भारतले खेलको ८०औं मिनेटमा गोल फर्कायो। लामो दुरीबाट पाएको बलमा करिस्माले गोल गरेकी हुन्। गोलकिपर अन्जना राना मगर अघि बढिसकेको अवस्थामा पूजा रानाको मार्कलाई उछिन्दै करिश्माले उत्कृष्ट फिनिसिङ गरिन् । 

अब नेपालले सिक्किममा भारतसँग नै अर्को मैत्रीपूर्ण खेल्ने तालिका छन् । प्रतियोगितामा भारत जितविहीन रहँदा नेपालले भने सान्त्वना जित निकालेको हो ।