इन्जिनियरिङको प्रवेश परीक्षामा कलेजको मनोमानीले खस्कियो शिक्षाको गुणस्तर, विश्वसनीयता गुम्ने जोखिम !

फाल्गुन १७, २०७९ |नारायण किलम्बू
इन्जिनियरिङको प्रवेश परीक्षामा कलेजको मनोमानीले खस्कियो शिक्षाको गुणस्तर, विश्वसनीयता गुम्ने जोखिम !

काठमाडौं । सामाजिक प्रतिष्ठा तथा रोजगारीका लागि सहज हुने भएकाले इन्जिनियरिङ विषय अध्ययनप्रति विद्यार्थीको आकर्षण कायमै छ । तर, विश्वविद्यालय र कलेजैपिच्छे हुने प्रवेश परीक्षाका कारण विद्यार्थी अन्योलमा पर्ने गरेका छन् । विश्वविद्यालय अनुदान आयोगले एक वर्षअघि नै प्रवेश परीक्षामा एकद्वार प्रणाली अपनाउन निर्देशन दिए पनि कार्यान्वयन हुन सकेको छैन ।

गुणस्तरीय शिक्षा र सस्तो भएका इन्जिनियरिङ विषय अध्ययनका लागि अधिकांश विद्यार्थीको रोजाइ त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान हुने गर्छ । त्रिविमा स्नातकोत्तर पढाइ हुने ४ वटामात्र क्याम्पस छन्, ती पनि आंगिक । तिनमा सिभिल, आर्किटेक्चर, स्ट्रकचरल, कम्युटरलगायत ३५ विषयका ७ सय ४० सिट छन् । जसका लागि बुधबार १८ सय विद्यार्थीले प्रवेश परीक्षा दिए ।

मुलुकमा १२ वटा संघीय र ६ वटा प्रदेशस्तरीय विश्वविद्यालयमध्ये अधिकांशमा इन्जिनियरिङ विषयको पठनपाठन हुने गर्छ । तर, प्रवेश परीक्षा भने आफूखुसी लिने गरेका छन् । अझ कतिले त प्रवेश परीक्षा नै नलिइ भर्ना गरेर पढाउने गरेका छन् । जसले गर्दा इन्जिनियरिङ् शिक्षाको गुणस्तर खस्किएको मात्र छैन, विश्वसनीयतामै कमी आएको छ । विश्वविद्यालय अनुदान आयोगले एक वर्षअघि नै एकीकृत प्रवेश परीक्षा लिन विश्वविद्यालयहरुलाई निर्देशन दिए पनि कार्यान्वयन हुन सकेको छैन् ।

विद्यार्थीको निरन्तर चाप बढे पनि इन्जिनियरिङ् अध्ययन संस्थानले न त आंगिक क्याम्पस विस्तार गरेको छ, न सम्बन्धन नै दिएको छ । जसले गर्दा विद्यार्थीले चाहेर पनि भर्ना नपाउने अवस्था छ । पछिल्लो समय इन्जिनियरिङ् विषय अध्ययनका लागि विदेशिने विद्यार्थीको संख्या बढ्दो छ ।

चिकित्सा शिक्षामा जस्तै एकीकृत प्रवेश परीक्षा प्रणाली अपनाउने हो भने इन्जिनियरिङ शिक्षामा पनि गुणस्तर कायम गर्न सकिन्छ भन्नेमा शंका छैन । यसका लागि नियामक निकाय गम्भीर बन्नु जरुरी छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।