भूकम्पले भत्किएका विद्यालय अझै बनेनन् (भिडियो रिपोर्ट)

माघ १८, २०७९ |पोषनाथ अधिकारी|केदार शिवाकोटी|राजकृष्ण श्रेष्ठ
भूकम्पले भत्किएका विद्यालय अझै बनेनन् (भिडियो रिपोर्ट)

धादिङ, नुवाकोट, दोलखा । धादिङ, दोलखा र नुवाकोट जिल्लामा २०७२ सालको भूकम्पमा भत्किएका कतिपय विद्यालय अहिलेसम्म पुनर्निर्माण हुन सकेका छैनन् । सरकारी लगानीमा मात्र होइन, छिमेकी मुलुकहरुले पुननिर्माणको जिम्मा लिएका विद्यालयको काम भने अझै नसकिँदा भूकम्प प्रभावित जिल्लाका विद्यार्थी सास्ती व्यहोर्न बाध्य छन् ।

भूकम्पका कारण भत्किएको धादिङको बराहकालीका माध्यमिक विद्यालय निर्माण गर्न भन्दै भारतीय दूतावासको सहयोगमा ठेक्का लागेपछि विद्यालयको जीर्ण भवन सबै भत्काइयो । नयाँ भवनको आशामा पुराना सबै भवन भत्काइएर विद्यार्थीलाई टहरामा पठनपाठन सुरु गरियो । तर अझै नयाँ भवन बनेको छैन ।

भवन निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई सकस भएको छ । त्यसो त धादिङकै मिन्दुका माविले नयाँ भवनको आशामा पुराना भवन भत्काउँदा अहिले निजी घर भाडामा लिएर कक्षा सञ्चालन गरिरहेको छ । धादिङमा मात्र यस्ता १० विद्यालय छन् जुन भारतीय सहयोगमा निर्माण थालिए पनि अलपत्र छन् ।

धादिङमा मात्र होइन भूकम्पले भत्किएका दोलखाका एक दर्जन विद्यालयको पुनर्निर्माण नसकिँदा विद्यार्थी जस्ताकै टहरामा पढ्न बाध्य छन् ।

भूकम्पपछि भारत र चीन सरकारले बनाइदिने भनेका १३ विद्यालयमध्ये १२ विद्यालय निर्माणकै चरणमा छन् । भारत सरकारले निर्माण गरिरहेका १० मध्ये ९ विद्यालय निमार्णको काम निकै सुस्त छ । चीन सरकारले निर्माण गरिदिने भनेको ३ मध्ये २ वटाको निर्माण सुरु भए पनि जिरी माध्यमिक विद्यालयको निर्माण अझै सुरु हुन सकेके छैन । यता नुवाकोटमा पनि भारतीय दूतावासले जिम्मा लिएको दुई विद्यालयको निर्माणको काम बाँकी रहेको शिक्षा विकास तथा समन्वय एकाइ, नुवाकोटका शाखा अधिकृत तुलबहादुर महतको भनाइ छ ।

विद्यालय निर्माण गर्न दूतावाससँग सहमति गरे पनि निर्माण प्रक्रिया अघि नबढ्दा विद्यालयमा व्यवस्थापकीय समस्या त छँदै छ विद्यार्थीको पठनपाठनमा समेत प्रभाव परेको बराहकालिका मावि धादिङका शिक्षक भरत दुवाडीको भनाइ छ ।

विद्यालय भवन पुनर्निर्माणमा भइरहेको लापरबाहीले विनासर्त सहयोगका नाममा हात फिँजाउने नेपाल सरकार र सहयोग दिन्छु भनेर लामो समय अड्काएर राख्ने दातृ निकाय र उसको कार्यशैलीप्रति पुनर्विचार गर्नुपर्ने देखिन्छ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।

Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।

Image

राजकृष्ण श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नुवाकोट संवाददाता हुन् ।