अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै सुनको भाउमा गिरावट, डलरको भाउ उच्च

कार्तिक २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै सुनको भाउमा गिरावट, डलरको भाउ उच्च

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा डनल्ड ट्रम्प निर्वाचित भएसँगै सुनको भाउमा गिरावट आएको छ । डलरको भाउ भने उच्च भएको छ । ट्रम्पको जितसँगै अमेरिकी डलर बलियो हुँदा सुनको मूल्य घटेको हो ।

नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय ३५ रुपैयाँ १६ पैसा तोकेको छ । यो हालसम्मकै उच्च हो । सुन भने एकैदिन तोलामा ४ हजार रुपैयाँले घटेको छ । हिजो १ लाख ६८ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ पुगेको हो ।

ट्रम्पको विजयपछि डलर झनै बलियो बन्ने आशाका साथ डलरमा लगानी बढ्दा सुनको भाउ घटेको हो । पछिल्ला दिनमा विश्वबजारमा डलरको माग बढिरहेको थियो । यद्यपि हालैको राष्ट्रपतिको निर्वाचनका कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा थिए । तर ट्रम्पको बिजयीसँगै लगानीकर्तामा डलरको आकर्षण बढेको हो । डलर बलियो बनेसँगै भारतीय मुद्रा कमजोर भएको छ ।

भारुसँग नेपाली मुद्राको बिनिमय दर स्थिर भएकाले नेपाली मुद्रा पनि कमजोर भएको हो । डलर बढेसँगै नेपालले रेमिट्यान्स तथा पर्यटन मार्फत् लाभ उठाउन सक्छ । डलरको मूल्य उच्च भएपछि थप रेमिट्यान्स भित्रिन सक्छ । तर, डलरको भाउ बढ्दा आयातित वस्तुको मूल्य भने महंगो हुनपुग्छ ।

यसले आयातित वस्तुको भाउ बढाउने छ भने नेपालीहरुको विदेशमा अध्ययन, भ्रमण, स्वास्थ्य उपचारको खर्च बढाउने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement