सामुदायिक विद्यालयको नतिजा सुधार्न काठमाडौंमा ‘फेस्टिभल क्याम्प’

कार्तिक ५, २०८१ |नारायण किलम्बू
सामुदायिक विद्यालयको नतिजा सुधार्न काठमाडौंमा ‘फेस्टिभल क्याम्प’

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा-एसईईमा सामुदायिक विद्यालयका विद्यार्थीको नतिजा धेरै कमजोर छ । लगानी अनुसारको प्रतिफल नआउनुका साथै र सिकाइ उपलब्धिसमेत कमजोर देखिएपछि काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक नतिजा सुधार्न १० दिने शैक्षिक महोत्सव ‘फेस्टिभल क्याम्प’ गरेको छ । दशैं–तिहारको बिदा सदुपयोग गरि विद्यार्थीलाई अध्ययनप्रति रुचि जगाउने र एसईई नतिजामा सुधार ल्याउने लक्ष्यसहित आइतबारदेखि शैक्षिक महोत्सव सुरु गरिएको हो ।

सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर देखिएपछि महानगरपालिकाले ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ नामक गौरवको कार्यक्रमअन्तर्गत कक्षा १० का विद्यार्थीका लागि सिकाइ प्रोत्साहन फेस्टिभल क्याम्प गरेको छ । जसअन्तर्गत सैद्धान्तिक, प्रयोगात्मक तथा रचनात्मक माध्यमबाट शैक्षिक गतिविधि सञ्चालन गरिनेछ ।

काठमाडौं महानगरपालिकाभित्र कक्षा १० सम्म पढाई हुने ८७ वटा सामुदायिक विद्यालय छन् । तिनमा करिब ४१ हजार विद्यार्थी अध्यययनरत छन् । शैक्षिक क्याम्पमा विद्यार्थीका लागि गणित, विज्ञान, सामाजिक र प्राविधिक विषयका कक्षा सञ्चालन गरिनेछ । एउटा कक्षामा बढीमा ३५ विद्यार्थी सहभागी गराएर सह-सिकाई र समूहगत सिकाइका आधारमा शिक्षण सिकाई गरिनेछ जसबाट आगामी एसईईको नतिजामा सुधार हुने अपेक्षा शिक्षकहरुको छ ।

दशैं तिहारको छुट्टीका बेला अध्ययनमा भन्दा खेल्न र मनोरन्जनात्मक गतिविधिमा समय बढी जाने भएकाले यो अवधिको सदुपयोग भएकोमा विद्यार्थीहरु पनि खुसी छन् ।

११ वटा स्रोत केन्द्र र ५ वटा ठूला गरि १६ वटा विद्यालयमा सञ्चालन भएको सिकाई महोत्सव क्याम्पमा ८७ वटा सामुदायिक विद्यालयका २ हजारभन्दा बढी विद्यार्थी लाभान्वित हुने अनुमान गरिएको छ । महानगरपालिकाले गौरवको योजनाअन्तर्गत शैक्षिक सुधारका लागि २ अर्ब रुपैयाँ छुट्याएको छ । 


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।