विदेश पढ्न जानेबाट एक महिनामै बाहिरियो १५ अर्ब

आश्विन २८, २०८१ |नारायण किलम्बू
विदेश पढ्न जानेबाट एक महिनामै बाहिरियो १५ अर्ब

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीले गएको साउनमा मात्रै झन्डै १५ अर्ब रुपैयाँ विदेश लगेका छन् । चालू आर्थिक वर्षको पहिलो महिना १४ अर्ब ९२ करोड रुपैयाँ वैदेशिक अध्ययनका नाममा बाहिरिएको हो । अघिल्लो आर्थिक वर्षको पहिलो महिना १० अर्ब रुपैयाँ विदेशिएकोमा यो वर्ष ५० प्रतिशतले वृद्धि भएको देखिएको हो । शिक्षा मन्त्रालयको तथ्यांक अनुसार गएको साढे २ महिनामा ३३ हजार विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुमतिपत्र लिएका छन् । नेपालमा उच्च शिक्षा अध्ययन-अध्यापन गराउने शैक्षिक संस्था हुँदाहुँदै पनि ठूलो संख्यामा विद्यार्थी बाहिरिँदा देशलाई आर्थिक भार मात्र बढेको छैन, नेपालको शैक्षिक प्रणालीमाथि नै प्रश्नसमेत उठेको छ । 

शिक्षा मन्त्रालयका अनुसार उच्चशिक्षा अध्ययनका लागि दैनिक ३ सय ५० को हाराहारीमा विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र एनओसी लिने गरेका छन् । चालु आर्थिक वर्षको साढे २ महिनामै ३३ हजार विद्यार्थीले विभिन्न देशका जानका लागि अध्ययन अनुमतिपत्र लिएका छन् । जसमा अमेरिकाका लागि १३ हजार, जापानका लागि १० हजार र बेलायतका लागि ५ हजारभन्दा बढीले वैदेशिक अध्ययन अनुमतिपत्र लिएका हुन् ।

उच्च शिक्षा अध्ययनका लागि गएको साउन महिनामा विदेशिएका विद्यार्थीले मात्र १४ अर्ब ९२ करोड रुपैयाँ लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा १० अर्ब ७५ करोड रुपैयाँ बाहिरिएको थियो । त्यसपछिका २ महिनाको तथ्यांक भने सार्वजनिक भइसकेको छैन ।

नेपालमा कक्षा १२ सम्मको अध्ययनपछि विदेश गएर पढ्ने चाहना धेरैको देखिएको छ । राजनीतिक अस्थिरता, रोजगारीका अवसरको कमी र नेपालमा अध्ययन गरेका आधारमा विश्वको जनशक्तिसँग प्रतिस्पर्धा गर्न नसकिने बुझाइ विद्यार्थीको छ । विदेश गएपछि पढाइसँगै रोजगारीका अवसर पनि पाइने भएकै कारण धेरैजसो विद्यार्थीले वैदेशिक अध्ययनलाई रोज्ने गरेका हुन् ।

नेपाली विद्यार्थी विश्वका १ सय १२ वटा देशमा उच्चशिक्षा अध्ययनका लागि पुग्ने गरेका छन् । गत वर्ष १ लाख १७ हजार विद्यार्थी उच्चशिक्षा अध्ययनका लागि विदेशिएका थिए । ती विद्यार्थीबाट १ खर्ब २५ अर्ब रुपैयाँ बाहिरिएको थियो । त्यो भन्दा अघिल्लो वर्ष १ लाख १० हजार विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र लिएका थिए । त्यसबेला १ खर्ब ४२ करोड रुपैयाा बाहिरिएको थियो । अर्थात् हरेक वर्ष यसरी बाहिरिने रकम बढ्दो अनुपातमा छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो पाँच वर्षमा मात्र शिक्षाका नामबाट ३ खर्ब ५ अर्ब रुपैयाँ बाहिरिएको छ । उच्चशिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीलाई रोक्न पढाईसँगै रोजगारीका अवसर सुनिश्चित गर्न आवश्यक रहेको विज्ञको बुझाई छ ।

धेरैजसो नेपाली विद्यार्थी व्यवस्थापन, सूचना प्रविधि, भाषा, स्वास्थ्य, इन्जिनियरिङ जस्ता विषय अध्ययनका लागि विदेशिने गरेका छन् । मेधावी विद्यार्थी उच्चशिक्षा अध्ययनका नाममा विदेशिने र उतै बस्ने प्रवृत्ति व्याप्त छ । यसले नेपालको शैक्षिक प्रणालीमाथि मात्र होइन, राज्य सञ्चालकहरु माथिसमेत गम्भीर प्रश्न उठेको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।