डोटी । उपचारका क्रममा बालिकाको मृत्यु भएपछि डोटी प्रहरीले उपचारमा संलग्न तीन जना चिकित्सकलाई पक्राउ गरेको छ ।
खेल्दै गर्दा लडेर बायाँ हात भाँच्चिएकी दिपायल सिलगढी नगरपालिका ३ कि ९ वर्षीया बालिका रजनी भुललाई उपचारका लागि हिजो सुजङ अस्पताल लगिएको थियो । घाइते बालिकालाई गएराति शल्यक्रिया गर्ने क्रममा औषधीले रियाक्सन गर्दा मृत्यु भएको भन्दै आफन्तले उजुरी गरेपछि प्रहरीले उपचारमा संलग्न तीन जना चिकित्सकलाई आज पक्राउ गरेको हो ।
उपचारमा संलग्न चिकित्सकहरू राजमणि यादव, सुरेन्द्रकुमार चौधरी र अभिषेक यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी सूर्यप्रकाश भट्टले जानकारी दिनुभएको छ । मृतक बालिकाको शव अस्पतालमै रहेको पनि प्रहरीले जनाएको छ ।