पशु चिकित्सा परिषद् र विश्वविद्यालयहरुबीच विवाद हुँदा पशु चिकित्सा तथा पशुपालन विषयको भर्ना प्रक्रिया रोकियो

कार्तिक ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
पशु चिकित्सा परिषद् र विश्वविद्यालयहरुबीच विवाद हुँदा पशु चिकित्सा तथा पशुपालन विषयको भर्ना प्रक्रिया रोकियो

काठमाडौं । विश्वविद्यालयहरुमा स्नातक तहका अधिकांश संकायमा नयाँ भर्ना प्रक्रिया सकेर पठनपाठननै सुरु हुन लागेको छ । तर नेपाल पशु चिकित्सा परिषद् र विश्वविद्यालयहरुबीच मापदण्डका विषयमा देखिएको विवाद समाधान नहुँदा पशु चिकित्सा तथा पशुपालन विषयको भर्ना प्रक्रिया भने अघि बढ्नै सकेको छैन । जसले गर्दा यो विषय पढ्न चाहनेहरु अन्योलमा परेका छन् ।

विद्यालय तहको अन्तिम कक्षा १२ को नतिजा सार्वजनिक भएको तीन महिना हुन लागेको छ । विश्वविद्यालयहरुले स्नातक तहमा नयाँ भर्ना प्रक्रिया सुरु गरी अध्ययन सुरु गर्न लागेका छन् । तर पशु चिकित्सा तथा पशुपालन विषयको स्नातक तह अध्ययनका लागि त्रिभुवन, पूर्वाञ्चल र कृषि तथा वन विज्ञान विश्वविद्यालयका शिक्षण संस्थाहरुमा न्यूनतम मापदण्डसमेत नपुगेको भन्दै नेपाल पशु चिकित्सा परिषद्ले भर्ना प्रक्रिया रोक्न निर्देशन दिएपछि देखिएको विवाद अझै समाधान भएको छैन ।

पशु चिकित्सा तथा पशुपालन विषयको अध्यापनका लागि शिक्षण संस्थाहरुले हरेक वर्ष न्यूनतम मापदण्ड पुरा गरि नेपाल पशु चिकित्सा परिषद्‍बाट अनुमति लिनुपर्छ । तीनवटै विश्वविद्यालयका शिक्षण संस्थामा पर्याप्त जनशक्ति, भौतिक पूर्वाधार र प्रयोगशाला नभएको भन्दै परिषद्ले अनुगमन र नियमन गरे पनि ठोस निर्णय भने गरेको छैन ।

पशु चिकित्सा तथा पशुपालन विषयको अध्ययन अध्यापनका लागि हरेक वर्ष परिषद्‍बाट सञ्चालन अनुमति लिनुपर्छ । नयाँ विद्यार्थी भर्नाको क्रममा हरेक वर्ष देखिने समस्या समाधानमा भने पहल भएको देखिँदैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.