चुनावमा कोरोनाको जोखिम

आश्विन २७, २०७९
चुनावमा कोरोनाको जोखिम

नेपालमा पछिल्लो समय कोभिड संक्रमण दर घटेको छ । चौथो लहर ओरालो लागेर संक्रमण दर घटे पनि जोखिम भने घटेको छैन । त्यसमाथी चुनावी गतिविधि सुरु भइसकेकाले स्वास्थ्य मापदण्डको पालना अनिवार्य नगरे पुन: संक्रमण बढ्ने चिकित्सक बताउँछन् ।

नेपालमा साउनदेखि कोभिडको चौथो लहर सुरु भएको थियो । त्यस बेला संक्रमण दर २६ प्रतिशतसम्म पुगेको थियो । तर अहिले पीसीआर परीक्षणमा संक्रमण दर ६ प्रतिशत छ । संक्रमण दर घटेकै कारण मानिसले स्वास्थ्य मापदण्डमा हेलचेक्रयाइँ गर्न थालेका छन् ।

अहिले नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ सय ७५ छ । दैनिक ३५ जना हाराहारीमा संक्रमण पुष्टि हुने गरेको छ । तर पनि केही समययता कोरोनाकै कारण कसैको पनि ज्यान गएको छैन । अस्पतालमा चाप पनि कम छ । आइसीयुमा ४ जनाको उपचार भइरहेको छ । तर जोखिम नघटेको दाबी सरकारको छ ।

कोभिड संक्रमण दर ५ प्रतिशतभन्दा बढी भएमा जोखिम मानिन्छ । अहिले संक्रमण दर ६ प्रतिशतभन्दा माथि नै रहेको र चुनावी गतिविधि सुरु भएकाले जोखिम बढ्नसक्ने चेतावनी चिकित्सकले दिएका छन् ।

कोरोना संक्रमण दर र संक्रमितको संख्या कम भयो भन्दैमा स्वास्थ्य मापदण्ड पालनामा लापरबाही गर्न थालिए जोखिम बढ्न सक्छ । यो अवस्थामा सरकारले सचेतना अभियान जारी त राख्नुपर्छ नै राजनीतिक दल र आमनागरिक पनि सचेत हुनैपर्छ ।