गणतन्त्र हाँक्न तयार छन् जेन जी र मिलेनियल्स

जसको युग उसकै नेतृत्व
जेष्ठ १६, २०८२ |विजय पौडेल
गणतन्त्र हाँक्न तयार छन् जेन जी र मिलेनियल्स

विश्वकै उन्नत राजनीतिक व्यवस्था भइकन पनि संघीय लोकतान्त्रिक गणतन्त्रमा नेपाली जनता आक्रोशित छन्, आखिर किन ?

जवाफ खोज्न गणतन्त्र दिवसकै अगाडिका दुई घटना पर्याप्त छन् । पहिलो, २०६४ सालमा संविधान सभा निर्वाचनका बेला रौतहटमा बम विस्फोट भयो र धेरै जना घाइते भए । उपचार गर्नु त कता हो कता २३ जना घाइतेलाई जिउँदै इँटाभट्टामा हाली जलाएर मारेको आरोप नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलम लगायतलाई लाग्यो । जिल्ला अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय पनि भयो । पीडितले न्याय पाए । तर अहिले उच्च अदालतले जिल्लाको फैसला उल्टाइदियो । आफताब आलम फूलमाला लगाएर जेलबाट छुटे । पीडितका परिवार भन्छन् अन्याय भयो त्रासमा छौं ।

दोस्रो, दाइको हत्या आरोपमा बुटवलका सुजन कोइरालालाई अदालतले दोषी ठहर गर्दै कैद सजाय तोक्यो । जेल बसिरहेका उनलाई आचरण राम्रो भएको भन्दै आममाफी दिइयो । त्यसको साढे तीन वर्षपछि अहिले उनले पूर्व श्रीमती र उनका दुई छोरीको बीभत्स हत्या गरे । उनको आचरण राम्रो थियो कि राजनीतिक पहुँच ? प्रश्न पक्कै पनि उब्जन्छ । सरकारले आममाफी नदिएको भए ती दुई साना नानी र दीपा जीवितै हुने थिए । गणतन्त्रको खुशियाली मनाइरहेका हुने थिए ।

गणतन्त्रको स्थापनापछिका यस्ता घटनाले नै यो व्यवस्था पनि आमजनताको होइन, पहुँचवाला र पैसावालाको मात्र हो, भन्ने स्थापित गर्दै लगेको छ । तत्कालीन राजा ज्ञानेन्द्रको असंवैधानिक कदम र निरंकुश शासनविरुद्ध २०६२/६३ मा नेपाली जनता सडकमा उत्रिए, जेलनेल भोगे, गोली खाए । तर झुकेनन् । राजतन्त्र ढाले, देश गणतन्त्रउन्मुख भयो । पहिलो संविधानसभाको पहिलो बैठकले राजतन्त्र अन्त्य र गणतन्त्रको उद्घोष गर्‍यो । यसैको जगमा बनेको २०७२ को संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्यो, नेपाली नागरिकलाई सार्वभौमसत्ता सम्पन्न बनायो, समानता र समावेशीको नयाँ युगमा देश प्रवेश गर्‍यो । मुलुकमा संघीयता र धर्मनिरपेक्षता कामय भयो ।

नेतृत्वले आत्मसमीक्षा, गल्ती गर्नेलाई कारबाही र नेतृत्व हस्तान्तरण गर्न साहस नदेखाउने हो भने उनीहरूले गरेको गल्तीको भारी व्यवस्थाले बोकिरहनुपर्नेछ ।

तर राज्य सञ्चालनमा जनअपेक्षाविपरीत काम सुरु भयो । नागरिकमा आक्रोश बढ्दै गयो, व्यवस्था विरोधीहरूलाई खेल्ने मौका मिल्दै गयो । गणतन्त्रको १८ वर्षमा सुशासनको प्रत्याभूतिसँगै आर्थिक, सामाजिक रूपमा देशले फड्को मार्ने नागरिकको अपेक्षा पूरा भएन । राजनीतिक नेतृत्वको गैरजिम्मेवारीपनका कारण दण्डहीनता मौलायो, भ्रष्टाचार बढ्यो, आर्थिक अनुशासन शून्यप्रायः भयो, सत्तामा रहनेले शक्तिको केन्द्रीकरण गर्दै उन्मुक्ति पाउन थाले, दलभित्र निरंकुशता मौलायो । आर्थिक, सामाजिक, प्रशासनिक सबै क्षेत्रमा चरम राजनीतिकरण भयो र बिचौलिया हाबी भए । देश निर्माणभन्दा आफू निर्माणमा नेतृत्व केन्द्रित भए ।

संघीय लोकतान्त्रिक गणतन्त्र आफैंमा सहभागितामूलक, समावेशी र उन्नत राजनीतिक प्रणाली हो । तर सञ्चालन गर्नेहरूले यसलाई विकृत बनाइरहेका छन् । वर्षौंसम्म एउटै व्यक्ति नेतृत्वमा रहने, नैतिक मूल्य मान्यताविपरीत आसेपासे र बिचौलियासँग रमाउने, प्रश्न उठाए कारबाही गरेर पार्टीबाट निष्कासनसम्म गर्ने, भ्रष्टाचारका हरेक काण्डमा राजनीतिक नेतृत्व जोडिने, सकेसम्म कारबाही नै गर्न नसक्ने गरी सेटिङ मिलाउने, मिलेन र पक्राउ परिहालेमा पनि साम, दाम, दण्ड, भेद गरेर उम्कने । तल्लो अदालतबाट प्रमाणसहित दोषी ठहर भए पनि छिद्र खोजेर माथिल्लो अदालतबाट उम्कने । यही हो अहिलेको हाम्रो गणतन्त्रको परिचय ।

देश गरिबीको दुश्चक्रमा फसेको फस्यै छ । उत्पादन र रोजगारी सिर्जना लगातार घट्दै गएको छ । आयात बढेको बढ्यै छ । विकास बजेट छुट्याउने तर खर्च गर्न नसक्ने । खर्च भए पनि गुणस्तरीय काम हुन नसक्ने । तर नेतृत्वले कहिल्यै गल्ती गरे नभन्ने । अहिले देशमा जति पनि राजनीतिक आर्थिक विकृति विसंगति छन् त्यसको कारक अहिलेको नेतृत्व नै हो । तर उनीहरू स्वीकार गर्न तयार छैनन् । आफूले गरेको गल्ती व्यवस्था र प्रणालीमा थोपरेर उनीहरू उम्कन खोज्छन् । संविधान बमोजिम नचल्ने । तर राजनीतिक स्थायित्व र सुशासन दिन संविधान बाधक भयो भन्दै संशोधनको राग अलाप्ने । विडम्बनापूर्ण अवस्था छ ।

लोकतन्त्रमा एउटा दल वा नेतृत्व असफल भएमा विकल्प खोज्न सकिन्छ । आवधिक निर्वाचनमार्फत वैकल्पिक राजनीतिक दललाई रोज्न सकिन्छ । पार्टीको नेतृत्व असफल भएमा महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने विकल्प हुन्छ । तर हामीकहाँ यसलाई पनि विकृत बनाउन खोजिराखिएको छ । नेतृत्वले आत्मसमीक्षा, गल्ती गर्नेलाई कारबाही र नेतृत्व हस्तान्तरण गर्न साहस नदेखाउने हो भने उनीहरूले गरेको गल्तीको भारी व्यवस्थाले बोकिरहनुपर्नेछ ।

गणतन्त्र हाँक्न तयार छन् जेन जी र मिलेनियल्स । जसको युग उसकै नेतृत्व ।

बढ्दो अविश्वासका बीच दलको युवापुस्ताले भोलि देशको नेतृत्व गर्न सक्ने छैन । यस कारण युवा पुस्ताले नेतृत्वलाई जिम्मेवार बनाउन सक्नुपर्छ । नयाँ पुस्ता अग्रसर हुँदै दलभित्र र बाहिरबाट नवीन विचार र मूल्यमा आधारित नेतृत्व अघि सार्न सक्नुपर्छ । वैकल्पिक शक्तिका रूपमा उदाएका दलहरूले पनि फरक ढंगबाट पार्टी र सत्ता सञ्चालन गर्नुपर्छ । पुराना दलकै ढर्रामा लाग्दा उनीहरू पनि काम नलाग्ने साबित हुँदै गएका छन् ।

जेन जी पुस्ताले राजनीतिक दल र यिनका नेतृत्वलाई विश्वास र सम्मान गर्न सकेका छैनन् । उनीहरूलाई अघिल्लो पुस्ताले गरेको आन्दोलन र बलिदान बुझाउनु पर्नेछ । त्यसकै जगमा उनीहरू अहिले स्वतन्त्रता उपभोग गरिरहेका छन्, सम्झाउनु पर्नेछ । नेतृत्वलाई जनआन्दोलनमा जनताले दिएको बलिदान सम्झाउनुपर्ने भएको छ । भोक, गरिबी, असमानता र भ्रष्टाचारको विरोध गरेर खडा भएको जनआन्दोलनको जगमा बनेको नयाँ सत्ताले फेरि पनि भोक, गरिबी, असमानता र भ्रष्टाचार नै दिएको छ ।

नेतृत्व, सत्ता र कार्यकर्ताको वरिपरि मात्र घुम्दा नागरिकको विश्वासबाट च्युत हुँदै गएका छन् । राजनीतिको यो विषम मोडमा व्यवस्थाको विकल्पको बहस समेत सुरु भएको छ । तर अहिले व्यवस्थाको विकल्प होइन, जनविश्वास गुमाएका नेतृत्वको सम्मानजनक बहिर्गमन, शासन सञ्चालन शैलीमा पूर्ण परिवर्तनसहित नयाँ नेतृत्वको निर्णायक भूमिका आवश्यक भएको छ ।

यस कारण सच्चिनुपर्ने अहिलेको नेतृत्वले नै हो । नसच्चिने हो भने उनीहरूले मार्गप्रशस्त गर्ने हो र निर्वाचनमार्फत नयाँ नेतृत्व ल्याउने हो । गणतन्त्र हाँक्न तयार छन् जेन जी र मिलेनियल्स । जसको युग उसकै नेतृत्व ।


Image

विजय पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक हुन् ।