सम्पादकीय : अब कान्तिपुर हेरे पुग्छ

कार्तिक २७, २०७९
सम्पादकीय : अब कान्तिपुर हेरे पुग्छ

सूचना प्रविधिको विकाससँगै सञ्चार माध्यमको स्वरुप परिस्कृत हुँदै जान्छ । पछिल्लो दशक इन्टरनेटको विकासपछि न्यु मिडियाको प्रभाव तीव्र बनेको छ । सूचना प्रविधिमा आएको परिवर्तनले टेलिभिजन सञ्चार माध्यमलाई पनि विस्तारित बनाएको छ । आम दर्शकको सूचनाप्रतिको चाहनामा विविधता थपिएको छ ।

सूचना प्रविधिको विकाससँगै मानिसहरुले हरेक सूचना दृश्यमै हेर्न रुचाउने भएकाले इन्टरनेटको विकाससँगै टेलिभिजनको महत्त्व बढेको छ । अहिले परम्परागत र नयाँ सञ्चार माध्यमबीच प्रतिस्पर्धा जस्तो देखिए पनि प्रविधिको तीव्र विकाससँगै मिडिया साक्षरताको गति मिल्न सक्नुपर्छ । यसका लागि आम मानिसमा जागेको सही सूचनाको चाहनालाई सम्बोधन गर्न नयाँ डिजिटल प्लेटफर्म महत्त्वपूर्ण माध्यम बन्न सक्नुपर्छ ।

सामाजिक सन्जाल विकाससँगै सूचना प्रवाहको गति बढेको छ । डिजिटल माध्यमबाट फेक न्युज पनि सँगसँगै प्रवाह हुन थालेपछि आधिकारिक सूचना खोज्न मानिसहरुले धेरैतिर भौंतारिनुपर्ने अवस्था छ । डिजिटल माध्यममा फेक न्युजको समस्या बढेको छ । प्रविधिको विकाससँगै भ्रामक सूचनाले समाजलाई दिग्भ्रमित पार्ने खतरा पनि दिनानुदिन बढ्दो छ । अहिले आमनिर्वाचनको संघारमा नेपालमा फेक न्युजको समस्या थप मुखरित बनेको छ र यसले सबैलाई सताइरहेको अवस्था छ ।

सञ्चार क्षेत्रमा दुई दशक लामो सफल यात्रा पार गरेको कान्तिपुर टेलिभिजनले सन्तुलित, विश्वसनीय एवं तथ्यपूर्ण सूचना प्रवाहको नेतृत्व गर्दै आएको छ । सञ्चारका सबैखाले माध्यमको साक्षीसमेत रहँदै आएको छ कान्तिपुर । यही ऐतिहासिक भूमिकालाई स्मरण गर्दै सञ्चार क्षेत्रमा देखापरेका नयाँ चुनौतीको समाधान पनि कान्तिपुरले नै गर्नुपर्ने भएको छ । सूचनाको आधिकारिकता र विश्वसनीयताको नेतृत्व हामीले नै लिनुपर्ने भएको छ ।

आधिकारिक एवं विश्वसनीय सूचना प्रवाह गर्ने सामाजिक दायित्वलाई आत्मसात् गर्दै हामीले आजदेखि कान्तिपुर टेलिभिजनलाई नयाँ डिजिटल स्वरुपमा परिस्कृत गरेका छौं । हाम्रो यो प्रयासले आम दर्शकमा सूचनाको पहुँच बढ्ने र आधिकारिक सूचना प्राप्त गर्न सहज हुने विश्वास लिएका छौं ।

नयाँ र परिस्कृत रुपमा अब कान्तिपुरटीभी डटकमले नियमित टेलिभिजन कार्यक्रमका साथै देश विदेशका ताजा खबरहरु चाँडो र नियमित रुपमा पस्कनेछ । अब समाचारका लागि अन्त जानै पर्दैन, कान्तिपुर हेरे पुग्छ ।