काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फाले तत्कालका लागि होम एण्ड अवे प्रणालीमा लिग सञ्चालन गर्न नसकिने स्पष्ट पारेको छ ।
क्लबहरूको मागअनुसार केही समय दिएर पछि मात्रै सहिद स्मारक 'ए' डिभिजन लिग आयोजना गर्ने एन्फाले जनाएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार पत्रकार सम्मेलन गर्दै एन्फाका अधिकारीहरूले क्लबहरूसँग पुनः छलफल गरी लिगको फर्म्याट र मिति तय गर्ने बताएको छ ।
लिग आयोजना गर्नुपर्ने तालिकामा एन्फाले अर्को राष्ट्रियस्तरको शीर्ष श्रेणीको फुटबल प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको छ । तर, उक्त प्रतियोगिताको ढाँचा र स्वरूपबारे भने एन्फाले हालसम्म स्पष्ट पारेको छैन । एन्फाको वार्षिक क्यालेन्डरअनुसार ए डिभिजन लिग आगामी पुस ९ गतेदेखि सुरु हुने तय गरिएको थियो ।
आज लिग नखेलेको ८ सय ५६ दिन पूरा भएको छ । एन्फाले क्लबहरूसँग सहकार्य र सहमति जुटाएर आगामी दिनमा लिग सञ्चालनका विषयमा ठोस निर्णय गर्ने बताएको छ ।