आफ्नो मताधिकारको सदुपयोग गरौं

वैशाख २३, २०७९
आफ्नो मताधिकारको सदुपयोग गरौं

निर्वाचन,  जनताका लागि योग्य र सक्षम जनप्रतिनिधि छान्ने सुनौलो अवसर मात्र नभएर उत्सव नै हो । योग्य उम्मेदवारको छनोट गर्नु आफैंमा दबावपूर्ण काम हो । त्यसमाथि उम्मेदवारले आफ्नो पक्षमा मत पार्न प्रत्यक्ष वा परोक्षरुपमा अनेक दवाव दिने गरेका छन् । चुनावका लागि मतदातामा पर्ने दवाव,  उसको भूमिका र जिम्मेवारीमाथि प्रधान सम्पादक दिलभूषण पाठकबाट विशेष सम्पादकीय ।

हामी स्थानीय तह चुनावको मुखैमा छौं । यो बीचमा तपाईंहरुले आफू निकट दल वा स्वतन्त्र उम्मेदवारका गतिविधि पनि नजिकबाट नियालि रहनुभएको होला । चुनावमा मतदान गर्नु भनेको आफ्नो आवाज, संसारलाई सुनाउन पाउने एक विशेष मौलिक हक हो । यसका लागि लोकतन्त्र, निवार्चन वा दल यी सबैका निश्चित सिद्धान्त र आदर्श छन् । तर के चुनावका बेला यस्ता आदर्श वा सिद्धान्तले महत्व पाउँछन् ? की उही 'मनि' र 'मसल्स'को भय, उही सत्ता र शक्ति हुनेहरुको रजगज ?

अझ तोकेरै भन्नु पर्दा, पछिल्लो सयम त प्रधानमन्त्री भइसकेका र पार्टीको नेतृत्व तहकै नेताहरुको अभिव्यक्ति सुन्दा उनीहरु जसरी पनि चुनाव जित्नकै लागि आचार-संहिता मिच्नेदेखि, अरुको मानहानी गर्ने र मतदातालाई नै दबाबमा राख्नेसम्मका काम गरिरहेका छन् । डर र त्रास देखाइरहेका छन् ।पछिल्लो पटक अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा गरिएको एक सर्वेक्षणमा ५२ प्रतिशत मतदाता विभिन्न कारणले तनाव, एन्जाइटी, डिप्रेसनमा रहेको देखिएको थियो । यसले के पुष्टि गर्छ भने निर्वाचनको समयमा मतदाता निकै दबावमा हुन्छन् ।

त्यही भएर पनि चुनाव स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त हुनुपर्छ, भनिन्छ ।  एउटा योग्य, जिम्मेवार जनप्रतिनिधि छान्नु यसै पनि सजिलो काम होइन । उसको इतिहास थाहा हुनुपर्छ । उसको योग्यता, इमान्दारिता र त्योभन्दा बढि उ कति जिम्मेवार छ भनेर हेर्न जरुरी छ । तर हामी असल वा राम्रो मान्छेभन्दा राजनीतिक आस्थाले यसरी थिचिएका हुन्छौं की योग्यताभन्दा पनि अन्य आग्रह र पूर्वाग्रहका आधारमा जनप्रतिनिधि चुनिरहेका हुन्छौं । निर्वाचनका बेला मतदाता स्वयम्को पनि अति महत्वपूर्ण जिम्मेवारी हो- कुनै डर त्रास वा लोभ लालचमा नपरि योग्य जनप्रतिनिधि छान्ने । अहिले आफ्नो हात माथि हुादा चाहीा ठन्डा दिमागले सबै कुरा बुझेर गतिलो जनप्रतिनिधि नछान्ने, अनि पाँच वर्ष त्यही प्रतिनिधि वा पार्टीलाई काम गरेन भनेर गाली गरेर बस्ने ।  राजनीतिमा देखिने गरेको विकृति वा माथि पुग्ने अयोग्य नेता छान्ने कुरामा हामी स्वयं जिम्मेवार छौं । त्यसैले अहिले नै आफ्नो विवेकलाई बन्धक राख्ने काम कसैबाट नहोस् ।

त्यसो भए के त । सरकार, देशका जिम्मेवार दल, तीनका ठालु नेता तथा कार्यकर्ता, सञ्चारकर्मी, उद्योगी, व्यवसायी, बुद्धिजिवी, पेशाकर्मी, हामी सबैले निर्वाचनको स्वच्छता, निष्पक्षता, पारदर्शीता तथा भयमुक्त वातावरण कायम राख्न योगदान पुर्‍याइरहेका छौं की बिगारिहेका छौं ? निर्वाचन जित्नेहरुका लागि मात्र अवसर होइन, मतदाताका लागि पनि राम्रा र योग्य प्रतिनिधि छान्ने विशिष्ट अवसर हो । 

फेरि पनि आग्रह । योग्य र इमान्दार चुनौं ।