
धनुषा । हराभरा देखिनुपर्ने बेलामा मधेशका फाँटमा यतिबेला धुलो उडिरहेको छ ।
असन्तुलित वर्षा र खडेरीका कारण किसानहरूले सबै जग्गामा धान रोप्न पाएनन् भने रोपेको धान पनि पानी अभावमा सुक्नथालेको छ । सरकारले सिँचाइको न्यूनतम व्यवस्थासमेत मिलाउन नसक्दा हरेक वर्ष धान रोप्ने बेलामा किसानहको चिन्ता बढ्ने गरेको छ ।
यसले धान उत्पादनमा ह्रास आउने खतरा छ । जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा मौसमी चक्र खलबलिएको छ। प्रि-मनसुन वैशाख र जेठमा असामान्य वर्षा र हावाहुरी चले पनि साउन लागेयता आवश्यक पानी नपरेपछि धनुषाको नगराइन नगरपालिकाको धेरै खेत बाँझै छन् ।
यतिखेर धान गोडमेल गरी दुर्गा पूजालगायतको चाडपर्वको तयारीमा जुटनु पर्ने किसानहरू यतिबेला आफ्नो खेतमा धुलो उडिरहेको देखेर चिन्तित छन् । किसान रामअवतार महरा भन्नुहुन्छ,'पहिला त भगवान पानी दिन्थे । तर, यसपालि नत पानी परेको छ न त सरकारले कुनै सहयोग गरेको छ ।'
धनुषाको नगराइन, मुखियापट्टी मुसहरनिया, धनौजी, औरही, शहीदनगर, कमला र जनकनन्दिनीजस्तै महोत्तरीको मटिहानी, पिपरा, जलेश्वर, मनराशिसवा, सोनमा, बलबा सरपल्लोलगायत भारतीय सीमानासंग जोडिएका दक्षिणी भेगका पालिकाहरूमा सुक्खाको समस्या छ ।
धनुषामा ९५ र महोत्तरीमा ८४ प्रतिशत रोपाइ भइसकेको दाबी कृषि ज्ञान केन्द्रहरूले गरे पनि जसोतसो रोपेको धान पनि सुक्नथालेपछि किसान पीडामा छन ।
किसान देवा साह भन्नुहुन्छ,'हामीलाई कुनै बोरिङको सुविधा छैन । सबै सुख्खा परेको छ । वर्षा भइरहेको छैन । रोपेको धान पनि सुकिरहेको छ ।' किसान उमेशप्रसाद सिंह भन्नुहुन्छ,'नाम मात्रको सिँचाइ छ । कामको छैन । सबै खेत सेतो देखिन्छ सुख्खा बसेको छ । दैवको भरोसे मात्र यहाँका किसान बाँची रहेका छन् । खेतीको लागत पनि नउठ्ने अवस्था छ ।'
यस वर्षको जेठ १८ देखि असोज १४ सम्म पानी कम पर्ने भएकाले खडेरी पर्नसक्ने भन्दै आकासेपानीमा निर्भर किसानहरु प्रत्यक्ष मारमा पर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यसअघि नै चेतावनी दिएको थियो । सुक्खाको जोखिमबाट बँच्न किसानहरूलाई कम पानीमा उत्पादन दिनसक्ने धानका जातहरू छनोट गर्न अनुरोध गरिएको थियो ।
यसका साथै दीर्घकालीन समस्या समाधानका लागि वैकल्पिक खेती प्रणाली, आकासेपानी सङ्कलन, खेत नजिकै पोखरी निर्माण र छरुवा धान खेती प्रविधि अपनाउन जोड दिइएको थियो । किसानले जमेको पानी पनि पटाएर जसोतसो रोपाइ गरे तर अहिले कुलो, पैनी पनि सुकेको छ ।
कृषि उत्पादन बढाउन तीनै तहका सरकारले बर्षेनि लगानी बढाउँदै गरेको दाबी गर्दै आए पनि मधेशमा भने सिञ्चित क्षेत्रफल ४ दशमलव ३४ प्रतिशतले घटेर ३ लाख १९ हजार ८० हेक्टरमा झरेको राष्ट्र बैंकको अर्ध-वार्षिक आर्थिक प्रतिवेदनले देखाएको छ ।
कुल सिञ्चित क्षेत्रमध्ये कुलोद्वारा ५ दशमलव ६७, नहरद्वारा ० दशमलव ९७ र बोरिङद्वारा ९ प्रतिशतले कमि आएको हो । असन्तुलित वर्षा, सुक्खा खडेरी र सिँचाइ अभावमा अन्न उत्पादनका लागि उर्वर मधेशमा बर्षेनि धान उत्पादनमा ह्रास हुँदै गएको छ ।
रोपाइको समयमा पानी नपरेको र दाना फस्टाउने बेला परेको ठूलो पानीले गत वर्ष पनि धान उत्पादनमा असर गरेको थियो । प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा ३ लाख ७४ हजार ९ सय १० हेक्टरमा १४ लाख ४१ हजार ४ सय ७९ मेट्रिक टन धान उत्पादन भएको थियो, जुन प्रतिहेक्टर ३ दशमलव ८४ मेट्रिक टन थियो । तर, गएको वर्ष प्रतिहेक्टर उत्पादकत्व घटेर ३ दशमलव ६४ मेट्रिक टन भई १२ लाख ९ हजार १८ मेट्रिक टन धान उत्पादन भएको थियो ।