
प्यूठान-कञ्चनपुर । व्यावसायिक कृषि गर्ने प्यूठान र कञ्चनपुरका किसानहरू भर्मी कम्पोस्ट अर्थात् गँड्यौला मल उत्पादनमा लागेका छन् ।
गँड्यौला मलले माटोको उर्वराशक्ति बढ्दा बालीनालीको उत्पादकत्व पनि बढ्ने हुनाले किसान गँड्यौला मल उत्पादनमा जुटेका हुन् । यसले रासायनिक मलमाथिको निर्भरता घटाएको त छ नै मल र गँड्यौला बिक्रीबाट किसानले राम्रो आम्दानी लिनसमेत सफल भएका छन् ।
प्यूठान नगरपालिका १ खैराकी कौशिलाकुमारी आचार्य गँड्यौला मल उत्पादन गर्नुहुन्छ । करिब डेढ वर्षअघि फेसबुकमा गँड्यौला मलबारेको भिडियो हेरेपछि उहाँलाई यसबारे कौतुहल बढेको थियो । गत भदौमा सात हजार रुपैयाँमा भर्मी बेड खरिद गरेर गँड्यौला मल उत्पादनमा गर्नथालेकी कौशिलाले हाल सातवटा पक्की भर्मी कम्पोस्ट पिट र एउटा भर्मी बेडमार्फत गँड्यौला मल उत्पादन गर्दै आउनुभएको छ ।
मल र गँड्यौला बिक्रीबाट कौशिलाले एक वर्षमै चार लाख रुपैयाँको कारोबार गर्नुभयो । बजारमा मल प्रतिकिलो २७ देखि ३२ रुपैयाँ र गँड्यौला १ हजारदेखि २ हजारसम्ममा बिक्री हुँदैआएको छ । एक वर्षमै ११ क्विन्टल मल बिक्री गर्नुभएकी कौशिलाले गँड्यौला पनि लहानलगायतका सहरमा पठाउनुहुन्छ ।
प्यूठान नगरपालिका खर्पेंगखोलाकी रेखा बस्याल पनि गँड्यौला मलको प्रयोगले उत्पादन बढेकोमा खुसी हुनुहुन्छ । व्यावसायिक तरकारी खेती गर्दै आउनुभएकी रेखा घरमै मल तयार पार्नुहुन्छ । आफूलाई बढी भएको मल र गँड्यौला बिक्री गरेर उहाँले यो सिजनमा ८० हजार रुपैयाँ आम्दानी गर्नुभयो ।
गेजबाङका सन्तोष जिसीलाई पनि तरकारीको नर्सरीका लागि गँड्यौला मल वरदानजस्तै लाग्छ । व्यवसायिकरूपमै तरकारी खेती गर्ने सन्तोषले बारीभरिको तरकारीलाई नपुगे पनि नर्सरीका लागि आफैं गँड्यौला मल उत्पादन गर्नुहुन्छ ।
गोठे मलको तुलनामा धेरै फलदायी हुने गँड्यौला मल तरकारी र फलफूलका लागि धेरै उपयोगी रहेको किसानहरूको अनुभव छ । प्यूठानमा संघीय तथा प्रदेश सरकारअन्तर्गतका कार्यालयले भर्मी कम्पोस्ट मल बनाउन किसानलाई सहयोग गर्दैआएका छन् ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिका १२ ऐरिका उत्तम सुनारले चार वर्षअघि युट्युब हेरेर गँड्यौला पाल्नथाल्नुभएको थियो । आज त्यही गँड्यौलाले उहाँको जीवन बदलिदिएको छ । भर्मी कम्पोस्ट र गँड्यौला बिक्री गरेर उहाँ वार्षिक १० लाख रुपैयाँको कारोबार गर्नुहुन्छ ।
सबै खर्च कटाउँदा पाँच लाख रुपैयाँसम्म बचत हुन्छ । उत्तमका बुबा पहिले रोजगारीका लागि भारत जानुहुन्थ्यो । अहिले भने छोरासँगै स्वदेशमै यही व्यवसायमा रमाइरहनुभएको छ । खेतीको हरेक सिजनमा रासायनिक मलको खोजीमा सहकारी र बिक्री केन्द्र धाउनु किसानको बाध्यता हो ।
यही समस्याका बिच कृषिविज्ञहरूले भर्मी कम्पोस्टलाई प्रभावकारी विकल्पका रूपमा अघि सार्नुपर्नेमा जोड दिएका छन् । नेपालको माटोमा कम्तीमा पाँच प्रतिशत प्राङ्गारिक पदार्थ हुनुपर्नेमा अहिले औसत १ दशमलव ९६ प्रतिशत मात्रै रहेको अध्ययनले लेखाएको छ ।
गोबर र जैविक फोहोरलाई गँड्यौलाबाट प्रशोधन गरी बनाइने भर्मी कम्पोस्टमा साधारण गोबर मलभन्दा पाँच गुणासम्म बढी पोषक तत्व पाइने कृषि प्राविधिकहरूको भनाइ छ । कम लगानीमै उत्पादन गर्न सकिने, आफ्नो खेतका लागि गुणस्तरीय मल उपलब्ध हुने र अतिरिक्त उत्पादन बिक्री गरेर आम्दानी गर्न सकिने भर्मी कम्पोस्टले माटोको उर्वराशक्ति बढाउनुका साथै वातावरण संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेल्छ ।
हरेक वर्ष दोहोरिने रासायनिक मलको अभावका बिच प्यूठान र कञ्चनपुरका किसानले थालेको भर्मी कम्पोस्ट मल उत्पादन दिगो कृषि, स्वस्थ माटो र अतिरिक्त आम्दानीको आधार बन्नसक्ने देखाएको छ ।