
धादिङ । उज्यालो अभियान नारा सुन्दा तपाईँ के बुझ्नुहुन्छ ? पक्कै पनि शिक्षामा गरिएको लगानी, विभेदरहित समाज स्थापनाका लागि गरिएको प्रयास वा दिगो विकासका लागि गरिएको साझा अभियानलाई बुझ्नहुन्छ होला । तर, धादिङको सिद्धलेक गाउँपालिकाले भने उज्यालो अभियानका नाममा बाटोको छेउछाउदेखि जंगलमा रङ्गीन लाइट राख्न थालेपछि स्थानीयले यसको औचित्यमाथि प्रश्न गरेका छन् ।
संघिय राजधानी जोड्ने लाइफलाइन पृथ्वी राजमार्ग धादिङको सिद्धलेक गाउँपालिका छेउबाटै गुज्रिन्छ। तर राजमार्ग आसपास बाहेकको वडाका नागरिक भने अझै पनि सामान्य विकासको पहुँचभन्दा बाहिर छन्। स्थानीय तहका जनप्रतिनिधिले यो पीर मर्का बुझ्नेछन् र सिद्धलेकका सबै वडामा विकासका आधारभूत पूर्वाधार पुग्नेछ भन्ने आमनागरिकको अपेक्षविपरीत सिद्धलेक गाउँपालिकाले अहिले बाटोदेखि जंगलसम्म सौन्दर्य बढाउन भन्दै रङ्गीन लाइटहरू राख्नमा बजेट खर्च गरेपछि उनीहरू निराश छन् ।
उज्यालो सिद्धलेक नाम दिएर आर्थिक वर्ष २०८२/८३ मा ५० लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले केही ठाउँमा सडक बत्ती, सडक ऐनाजस्ता उपयोगी सामग्री राखे पनि अन्यत्र डिजिटल बोर्ड, पालिकाको झण्डा, र रङ्गीन लाइटहरू राखेको छ ।
अघिल्लो आर्थिक वर्षमा पनि गाउँपालिकाले सडक छेउमा गमला र बत्ती राख्ने भन्दै मोटो रकम खर्च गरेको थियो जुन अहिले मुस्किलले देख्न पाइन्छ। अहिले पनि राखिएका अधिकांश बत्तीहरू बिग्रिसकेका छन् । नागरिकको अपेक्षा आयआर्जन वृद्धि, शिक्षा, स्वास्थ्य र कृषिमा सुधारका लागि लगानी होस् भन्ने हो । तर स्थानीय आवश्यकतालाई चटक्कै भुलेर दीर्घकालीन उपयोग बिनाका काममा बजेट खर्च गर्दा आक्रोश बढाएको छ।
गाउँपालिकाले सौन्दर्यको नाममा गरेको यस्तो लगानीले योजना छनौटमा भइरहेको गैरजिम्मेवारीलाई प्रष्ट पारेको मात्रै छैन, रकमको दुरुपयोग भइरहेकोसमेत देखाउँछ । नागरिकका खाँचोका योजनामा लगानी गरेर जनप्रतिनिधिहरू जिम्मेवार बन्ने की ?