अल्लोको धागो बनाउने परम्परा जोगाउँदै दोलखाका महिला

बजारमा उच्च माग तर उत्पादन सीमित
असार १९, २०८३ |केदार शिवाकोटी
अल्लोको धागो बनाउने परम्परा जोगाउँदै दोलखाका महिला

दोलखा । दोलखाको हिमाली क्षेत्रका वनमा पाइने सिस्नु अर्थात् अल्लोबाट बन्ने सामग्रीको बजारमा माग राम्रै छ। 

मूल्य पनि राम्रै पाइन्छ। तर, अल्लोको धागो तयार पार्न भने निकै मिहिनेत गर्नुपर्छ। आधुनिक प्रविधिको सहायताबिना अल्लोका धागो र कपडाको उत्पादन पनि निकै सानो परिमाणमा हुने गरेको छ। तथापि यहाँका कतिपय स्थानीय प्रमुख आम्दानीको स्राेत नै यही पेसा हो। 

कसरी तयार पारिन्छ त अल्लोको धागो ?

दोलखाका हिमाली क्षेत्रको सिमसारमा अल्लो पाइन्छ। कसैकसैले सिस्नुसमेत भन्ने गरेको अल्लोबाट कपडा पनि बनाउन मिल्छ। जसलाई भाङ्ग्रा भनिन्छ । कुनै समय आलम्पु क्षेत्रका थामी समुदाय भाङ्ग्राकै पोसाक लगाउँथे ।

तर, अल्लोबाट धागो निकालेर कपडा बनाउन भने निकै गाह्रो काम हो । पहिला त जंगलबाट अल्लो टिपेर ल्याउनुपर्‍यो, र सुकाउनुपर्‍यो । त्यसपछि उसिनेर फेरि सुकाइन्छ र खोलामा लगेर कुटिन्छ । यसपछि बाहिरी बोक्रा निकालेर अर्कोचोटी पनि सुकाइन्छ ।

यति गरिसकेपछि अल्लोलाई खरानी र कमेरो माटो दलेर धुनुपर्छ । यसरी धोएको अल्लो सुकाएपछि बल्लो धागोका रेसाहरू निस्कन्छन् । रेसा निस्किएपछि चर्खामा राखे धागो काटिन्छ । यसरी बाटिएको धागोबाट बन्छ अल्लोका सामग्री । यो थामी समुदायको परम्परगत सीप हो ।

अहिले विगु गाउँपालिकाले आलम्पु गाउँका महिलाहरूलाई यो सीप हस्तान्तरण गरिरहेको छ । गाउँघरमै रोजगारी पाएपछि महिलाहरू आयआर्जनसमेत गर्न थालेका छन् । एकातिर बजारमा अल्लोका सामग्रीको माग, अर्कोतिर सीप अभावमा गाउँघरमा खेर जाने प्रवृत्ति । 

यस्ता स्थानीय सीपलाई आधुनिक प्रविधिसँग जोडेर प्रशोधन र उत्पादन विधि सिकाउने हो भने गाउँघरमै रोजगारीको माध्यम बन्ने थियो ।


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।