
काठमाडौं । हरेक सामानको मूल्य महंगो । बजारमा छोइसक्नु केही छैन ।
किन यस्तो हुन्छ, तपाइँलाई थाहा छ ? दक्षिण एसियामै नेपालको व्यापार लागत उच्च छ । ढुवानी लागतका कारण हरेक वस्तुको मूल्य बढेको छ । इन्धनको मूल्यमा भएको वृद्धिसँगै आन्तरिक तथा बाह्य ढुवानीको लागत बढेको हो । यस्तो बेलामा सडकमा भएका खाल्डखुल्डी मर्मत गर्दै यात्राको समय घटाउन सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा २८ अर्ब ५२ करोड छुट्टाएको छ ।
समयमै सडक मर्मतले आंशिक मात्रामा ढुवानीमा लाग्ने समय केही घटाए पनि यसको लागत घटाउन भने घुमाउरा सडक निर्माण नगर्नेदेखि गोदाम तथा तथा पार्किङको व्यवस्था गर्नुपर्ने व्यवसायी बताउँछन् । उद्योगी तथा व्यवसायीहरु ढुवानी लागत महंगो भएको गुनासो गर्छन् ।
यता ढुुवानी व्यवसायी पनि बैंकको ऋण तथा ब्याज तिर्न हम्मे हम्मे परेको गुनासो हुन्छ । लागत महंगो हुने तर कमाइमा सबै असन्तुष्ट हुने प्रमुख कारण हो ढुवानी लागतमा भएको वृद्धि । यता ढुवानी लागतका कारण नै छिमेकी मुलुकहरुको तुलनामा ग्राहकले नेपालमा वस्तुको मूल्य महंगो तिर्नुपरेको छ ।
भन्सार दस्तुरबाहेक भारतमा व्यापार लागत कुल गार्हस्थ उत्पादनको तुलनामा १३ देखि १४ प्रतिशत रहेकामा नेपालमा ३० देखि ३५ प्रतिशत रहेको छ । यसै त उच्च रहेको ढुवानी लागत इन्धनको मूल्यबढेसँगै पुनः बढेको छ । चैत अघिसम्म भारतको बिशाखापट्नमदेखि वीरगञ्जसम्म एक किलोको ढुवानी खर्च ८ रुपैयाँ रहेकामा अहिले १२ रुपैयाा पुगेको छ ।
त्यस्तै वीरगञ्जदेखि काठमाडौंसम्मको ढुवानी लागत ३ रुपैयाँ रहेकोमा अहिले चार रुपैयाँ पुगेको छ । अर्थात् इन्धनमा भएको मूल्यवृद्धिका कारण ५ रुपैयाँ महंगो भएको छ । जसको मूल्य ग्राहकको थाप्लोमा परेको छ । यसै त भूपरिवेष्ठित मुलुक भएकाले दक्षिण एसियामा नै हाम्रो व्यापार लागत सबैभन्दा उच्च छ ।
अन्य दक्षिण एसियाली मुलुककको तुलनामा नेपालको व्यापार लागत ४४ प्रतिशत उच्च रहेको सरकारले हालै सार्वजनिक गरेको नेपाल ट्रेड पोलिसी २०२५ मा उल्लेख छ । आन्तरिक तथा बाह्य ढुवानी लागतका कारण उपभोक्ताले चर्काे मूल्य तिर्नु परेको छ ।
नेपालगञ्जमा अहिले मोटा चामलको मूल्य ४९ रुपैयाँ छ । तर, यही चामल हुम्लाको सदरमुकाम पुर्याउन खाद्य संस्थानले एक केजीमा १४ रुपैयाँ तिरिरहेको छ भने जुम्ला पठाउन सात रुपैयाँ ११ पैसा । अर्थात् ४९ रुपैयाँमा नेपालगञ्जमा पाइने चामल ढुवानी लागत मात्रै जोड्ने हो भने हुम्लामा ६३ रुपैयाँ पर्छ ।
आन्तरिक रुपमा ढुवानी लागत घटाउन सरकारले घुमाउरो सडक निर्माण गर्न छोड्नुपर्ने व्यवसायी बताउँछन् । साथै समयमै मर्मत नगर्दा र आवश्यक मात्रामा सामान भण्डार गर्ने गोदाम तथा पार्किङ नभएकाले पनि ढुवानी लागत महंगो बनाएको व्यवसायीको भनाइ छ ।
आन्तरिक रुपमा व्यापार लागत घटाउन सडक निर्माण तथा मर्मतमा तिव्रता दिनुपर्ने व्यसायी बताउँछन् । उनीहरुले विदेशबाट भारतको बाटो हुँदै आउने सामानको लागत घटाउन सरकारले भारतसँग कूटनीतिक छलफल गरी अनावश्यक रुपमा थोपरिएका शुल्क घटाउनुपर्ने बताउँछन् ।
आयातका कारण वस्तु महंगो भएको धेरैले गुनासो गर्छन् । तर, ढुवानी लागतकै कारण आन्तरिक उत्पादन भएका वस्तुको समेत ग्राहकले चर्काे मूल्य तिर्नुपरेको छ । आयातित सामानको ढुवानी लागत घटाउन भारतसँग छलफल त छँदैछ आन्तरिक रुपमा रहेको ढुवानी लागात घटाउन पनि सरकारले पूर्वाधार निर्माणमा सुधार गर्नुपर्ने देखिन्छ ।