सीमा सुरक्षा र अपराध नियन्त्रणमा नेपाल-भारतबीच समन्वय बढाउने सहमति

भाद्र ६, २०८३ |विकास आर्या
सीमा सुरक्षा र अपराध नियन्त्रणमा नेपाल-भारतबीच समन्वय बढाउने सहमति

महोत्तरी । जिल्लाकाे सदरमुकाम जलेश्वरमा नेपाल र भारतका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ । 

नेपालको तर्फबाट महोत्तरी, सर्लाही र रौतहट तथा भारतको तर्फबाट सीतामढी जिल्लाको सुरक्षा अधिकारीहरुको सहभागितामा समन्वयात्मक बैठक सम्पन्न भएको हो । शनिबार सम्पन्न समन्वयात्मक बैठकमा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण तथा रोक थाम, लागूऔषध नियन्त्रण, सीमा स्तम्भको सुरक्षा, सीमामा हुने अपराधिक गतिविधि, अवैध हातहतियारको ओसार पोसार नियन्त्रणलगायतको विषयमा छलफल भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । 

दुवै देशका सुरक्षाकर्मीहरुले गर्दै आइरहेको संयुक्त गस्तीका क्षेत्रहरु बढाउँदै लगिने तथा सीमा अपराध नियन्त्रण लागि घटनाहरुको जानकारी साझा गर्ने विषयमा सहमति गरिएको उहाँले बताउनु भयो ।

यता भारतको सीतामढीका डीएम तनय सुलतानियाले दुवै देशबीचको सुरक्षाकर्मी मिलेर सीमामा सुरक्षालाई लिएर देखाउँदै आइरहेको सक्रियतालाई प्रशंसा गर्नुभयो । उहाँले सीमा स्तम्भको रेखदेख तथा मर्मत सम्भारको विषयमा छलफल गर्नुका साथै सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, मानव तस्करी नियन्त्रणलगायतको विषयमा जानकारी आदान प्रदान गर्ने विषयमा छलफल भएको जानकारी दिनु भयो ।

भारतका सीतामढी डिस्ट्रिक्ट मजिस्ट्रेट तनय सुलतानिया भन्नुहुन्छ, 'लागूऔषध ओसारपसार, मानव तस्करी, सीमा सुरक्षा, सीमा स्तम्भ मर्मत, बाढी नियन्त्रणलगायत सामाजिक मुद्दामा छलफल भयो। दुवै देशका चारवटै जिल्लाबीच समन्वय राम्रो हुँदै गएको छ। आगामी दिनमा लागूऔषध नियन्त्रण र सूचना आदानप्रदानका लागि विशेष टोली गठन गर्ने विषयमा पनि सहमति भएको छ।'

समन्वयात्मक वैठकले अगामी दिनमा सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउँदै अगाडि बढाउन सहयोग मिल्ने विश्वास व्यक्त गरिएको छ । समन्वयात्मक बैठकमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेस सागर, सीतामढी जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट तनय सुलतानिया र सीतामढीका सुपरीटेन्डेन्ट अफ पुलिस अमित रञ्जनसहितको उपस्थिति रहेको थियो ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।