बडिमालिकाको डोलीसँगै १६ वर्षदेखि विष्णुप्रसादको यात्रा

भाद्र ६, २०८३ |डीबी बुढा
बडिमालिकाको डोलीसँगै १६ वर्षदेखि विष्णुप्रसादको यात्रा

जुम्ला । हरेक वर्ष नागपञ्चमीका दिन जुम्लाबाट बडिमालिकाको यात्रा सुरु हुन्छ । 

सयौँ श्रद्धालु र सरकारी टोलीसँगै भगवतीको डोली बोकेर बाजुराको बडिमालिका पुग्ने परम्परा पुरानो हो। यो यात्रामा एउटा अनुहार १६ वर्षदेखि निरन्तर दोहोरिँदै आएको छ-विष्णुप्रसाद उपाध्याय। अरू पुजारीहरू बाटोको कठिनाइ र जोखिमका कारण दोहोरिएर जान नमान्दा उपाध्याय भने सेवामा सधैँ तत्पर बन्नुहुन्छ।

बडिमालिका जानु केही दिनअघिसम्म विष्णप्रसाद उपाध्यायको मन बेचैन हुन्छ । तर, जिल्ला प्रशासन कार्यालयबाट पुजारीका रूपमा त्यता जाने पत्र हातमा परेपछि उहाँमा छुट्टै उत्साह छाउँछ । जुम्लाबाट बडिमालिका पुगेर फर्किन १५ दिनसम्म लाग्छ ।

बाटोमा बाढीपहिरो, थकान र अनेकौँ कठिनाइ छन् । तर, भगवतीको सेवा गर्ने अवसरले सबै कठिनाइ बिर्साइदिन्छ । विष्णुप्रसादको यसपटकको बडिमालिका यात्रा १६औँ हो । २०५१ सालमा ३० वर्षको उमेरमा उहाँ पहिलोपटक बडिमालिका पुग्नुभएको थियो । 

जिल्ला प्रशासनमा आफ्नो इच्छा सुनाएपछि उनलाई सरकारी टोलीसँग भात पकाउने सहयोगीका रूपमा पठाइएइको थियो । २०६० सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णसेन बुढाथोकीले उहाँलाई पुजारीका रूपमा बडिमालिका लैजाने प्रस्ताव गर्नुभयो । 

द्वन्द्वकालमा सरकारी टोली लिएर बडिमालिका पुग्नु आफैंमा चुनौती थियो । तर, उहाँले जोखिमको सामना गर्दै यात्रा पूरा गर्नुभयो । त्यसपछि २०६८ सालमा फेरि पुजारी बनेर बडिमालिका जानुभयो । त्यसयता भने हरेक वर्ष जिल्ला प्रशासन कार्यालयबाट बडिमालिका जाने टोलीमा उहाँ हुनुहुन्छ ।

चन्दननाथ मन्दिरबाट डोली बुझिसकेपछि अरू कसैलाई दिन मिल्दैन । लामो यात्रामा डोली बोक्दा उहाँका लागि यो केवल धार्मिक यात्रा नभइ जुम्लाबासीको विश्वास र मनोकामना बोकेर जाने जिम्मेवारीसमेत बन्छ । यात्रामा सहभागी सबैको सुरक्षा र खानपानको जिम्मेवारी पनि पुजारीमाथि हुन्छ ।

जुम्ला चन्दननाथ र डोटीको गोरखनाथसँग जोडिएको ऐतिहासिक आस्था यो यात्रामा आजपर्यन्त जीवित छ । हरेक वर्ष नागपञ्चमीका दिन सुरु हुने यात्रा केवल केही दिनको पैदल यात्रा होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको विश्वासको निरन्तरता हो ।

बडिमालिका जुम्ला र डोटीको धार्मिक ऐतिहासिक सम्बन्धसँग जोडिएको शक्तिपीठ हो । परम्पराअनुसार जुम्लाबाट जाने सरकारी टोलीलाई त्यहाँ विशेष सम्मान गरिन्छ। आफू ६० वर्षको उमेर हुँदासम्म बडिमालिका जाने प्रण गरेको विष्णुप्रसाद बताउनुहुन्छ।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।