लाइन र कोठा धाउनुपर्ने बाध्यता हट्यो

भाद्र ६, २०८३ |कमला पाख्रिन
लाइन र कोठा धाउनुपर्ने बाध्यता हट्यो

सिन्धुपाल्चोक । झन्झटिलो र समयखर्ची मानिँदै आएको जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहमा अहिले सुधार देखिएको छ। 

एउटै कामका लागि घण्टौँ लाइन बस्नुपर्ने र विभिन्न कोठा धाउनुपर्ने बाध्यता हटाउँदै सिन्धुपाल्चोक प्रशासन कार्यालयले एकीकृत सेवा प्रणाली लागू गरेपछि सेवा लिन सहज र छरितो बन्दै गएको छ।

पछिल्लो समय जिल्ला प्रशासन कार्यालयमा नागारिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका एउटै सेवाका लागि विभिन्न कोठा धाउनुपर्ने र लामो समय लाइनमा उभिनुपर्ने बाध्यता हटेको छ। पुरानो लेआउट हटाएर सेवाग्राहीमैत्री नयाँ संरचना तयार गरी कार्यालयले टोकन प्रणाली र सार्वजनिक सूचना प्रसारण पब्लिक अनाउन्समेन्ट सिस्टमबाट सेवा दिन थालेको हो । 

सेवा कक्षमा पुगेपछि कर्मचारीले सुरुमा आवश्यक कागजात रुजु गर्छन् । कागजात अपुग भए प्रक्रिया पूरा गर्न आवश्यक जानकारी र सुझाव दिइन्छ भने कागजात पूरा भएका सेवाग्राहीलाई टोकन नम्बरअनुसार पालो आएपछि सेवा उपलब्ध गराउँदै आएको छ।

नयाँ प्रणाली लागू भएपछि प्रशासनिक सेवा प्रवाह सहज, व्यवस्थित र पारदर्शी बनेसँगै विभिन्न बहानामा सेवाग्राहीले दुःख पाउने तथा सामान्य कामका लागि समेत बिचौलियाको सहारा लिनुपर्ने बाध्यता हट्दै गएको छ । नयाँ व्यवस्थाले नागरिकलाई छिटो, सरल र पारदर्शीरूपमा सेवा लिन सहज वातावरण बनेसँगै नागरिकले सरकारी कार्यालयबाट प्रत्यक्ष, सहज र प्रभावकारीरूपमा सेवा प्राप्त गरेको अनुभूति गर्न थालेका छन् ।

अनलाइन फाराम भर्न वा निवेदन लेख्न नजान्ने सेवाग्राहीका लागि चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा सहजकर्ता सेवा पनि दिँदैआएको छ । यसले बाह्य व्यक्तिको सहयोग लिनुपर्ने र अतिरिक्त रकम तिर्नुपर्ने बाध्यता हटाउँदै सेवाग्राहीको समयसँगै खर्चसमेत बचत हुनुका साथै गाउँ तथा टाढाका क्षेत्रबाट प्रशासनमा आउने नागरिकलाई झन् सहज भएको छ । 

साथै, पटक-पटक कार्यालय धाउनुपर्ने र सामान्य प्रक्रियाका लागि अनावश्यक खर्च गर्नुपर्ने समस्याबाट नागारिकले मुक्ति पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा सेवा लिन आउने नागरिकका लागि प्रशासनिक काम अब पहिलेजस्तो झन्झटिलो र समय लाग्ने छैन । 

नयाँ प्रणाली लागू भएपछि सेवा प्रक्रिया सहज, छिटो र व्यवस्थित बन्दा सेवाग्राहीलाई राहत मिलेको छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।