.png&w=1000&height=550)
धनुषा । बाली लगाउने बेलामा नेपाली किसानले सधैँ रासायनिक मलको अभाव भोग्नुपर्छ ।
यसबाट आजित भएर विकल्पको रूपमा धेरै ठाउँका किसानहरू आफैंले र केही ठाउँमा संघ संस्थाहरूले कम्पोस्ट मल उत्पादन गर्न थालेका छन्। त्यसकै एउटा विकल्प हो गँड्यौला मल। यो मल प्राङ्गारिक खेतीका लागि उत्तम र स्वस्थ बाली उत्पादनमा सहयोगी सावित भएको छ।
त्यसैले किसान माझ यसको जानकारी र उपयोगिताबारे सचेतना बढाउँदै तीनै तहका सरकार प्रवर्द्धनमा लाग्नुपर्ने देखिएको छ। उहाँ हुनुहुन्छ धनुषाको गणेशमान चारनाथ नगरपालिका बरमझियाका ५८ वर्षीय रामपुकार यादव। धेरै किसानले खोज्नथालेसँगै आम्दानी राम्रो हुनथालेपछि उहाँ अचेल गँड्यौला मल उत्पादनमा निकै व्यस्त हुनुहुन्छ ।
आफ्नै खेतबारीमा प्रयोग गर्न उत्पादन सुरू गरेको भए पनि अहिले गँड्यौला मल उत्पादनकर्ता किसानको ख्याति कमाउनुभएको छ । पहिलो वर्ष रासायनिक मलको विकल्पका रूपमा आफ्नो दुई बिघामा धान, गहुँ, उखु, आलु र तरकारी खेतीमा गँड्यौला मल मात्रै प्रयोग गरेर हेर्दा उत्पादन राम्रो भयो।
त्यो देखेर अरू किसानले पनि रामपुकारको सिको गर्दे गए। रामपुकारले सौरभ गँड्यौला मल उद्योग’ दर्ता गरी व्यावसायिकरूपमा मल उत्पादन गर्न थाल्नुभएको छ। यसको महत्त्व बुझेर संघ संस्था र किसानहरू गँड्यौला मल खरिद गरी लाने गरेका छन्।
माटोको उर्वराशक्ति बढाउन र कम लागतमा उत्पादन बढाउनुका साथै मावन स्वास्थ्य र वातावरण सुधारका निम्ति गँड्यौला मलको प्रयोग उत्तम मानिन्छ। गाईभैंसीको गोबर तथा खेतबारीबाट निस्किने कुहिने फोहरबाट गँड्यौलाको मद्दतले कम्पोस्ट मल उत्पादन गरिन्छ।
यसले रासायनिक मलको निर्भरता घटाउनुका साथै रासायनिक मलभन्दा सस्तो र सहज, जैविक फोहोरको सदुपयोग, गड्यौला र मल दुवै बेचेर दोहोरो फाइदा, प्राङ्गारिक मल खेतीका लागि उत्तम र स्वस्थ बाली उत्पादनमा मद्दत गर्छ। २०७७ सालमा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडीपीको आर्थिक सहयोगमा सामुदायिक सुधार केन्द्र धनुषाले वीरेन्द्र बजारमा ५५ जना किसानलाई गँड्यौला मल बनाउने तालिम दिएको थियो।
त्यो तालिम लिने एक किसान हुनुहुन्थ्यो रामपुकार । ५ किलो गँड्योँला र एउटा भर्मी बेडबाट सुरु भएको मल उत्पादनले हाल १ सय ५० किले गँड्यौला र १२ वटा भर्मी बेडसम्मको यात्रा तय गरेको छ । १२ महिनामा १२५ क्विन्टल मल उत्पादन गर्न सफल रामपुकार प्रतिकिलो २५ रुपैयाँको दरले गँड्यौला मल बेचेर वार्षिक २ लाखसम्म आम्दानी गर्नुहुन्छ।
यस्तै, पाल्पाको तानसेन नगरपालिका ५ धरमपानीमा कुटु कृषि फार्मले व्यवसायकि गँड्यौला पालन गरेर भर्मी कम्पोस्ट मल बिक्री गर्दै आएको छ। यो मल किसानका साथै कौशी खेती गर्नेहरुका लागि रासायनिक मलको विकल्पका रुपमा रहेको छ ।
बिरुवाले १६ तत्व पाउने भएकाले पनि किसानले मन पराएकाले बजारको कुनै चिन्ता छैन । पाल्पाको रिब्दीकोट गाउँपालिकाको सहयोगमा जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कुसुमखोलाको सहकार्यमा जैविक मल उद्योग स्थापना गरेर किसानलाई बिक्री गर्दै आएको छ ।
अमृतबुटी जैविक मल नाम दिइएको यसमा वनमारा, तितेपाती र पहाडी झारपात मिलाइएको छ । रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्ति नास भएको थाहा पाएपछि पाल्पाको माडी फााटका २ हजार बढी किसान हरियो मल ढाइचाको प्रयोग गर्न थालेका छन् ।
रासायनिक र गाईभैंसीको मल भन्दा हरियो मल ढाइचा उपयोगी हुने कृषि विज्ञ बताउँछन् ।