
चितवन । चितवन र पूर्वीनवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमा बनेको पुल ४५ वर्ष पुरानो भइसक्यो ।
यो पुलको जोखिम बढ्दै गएपछि सरकारले यही ठाउँमा नेपालकै पहिलो केवल स्टेट -सिग्नेचर पुल निर्माण गरिरहेको छ । तर, शिलान्यास भएको अढाइ वर्षपछि बल्ल पुल निर्माणको काम सुरु भएको छ । त्यसले गर्दा तोकिएको समयमै निर्माण नसकिने पकका छ भने प्रि-मनसुनमै धेरै पानी पर्न थालेपछि निर्माणको काममा कठिनाइ बढेको छ ।
निकै भिडभाड हुने नारायणी नदीको हालको पुलको छेउमै ठूला-ठूला मेसिनहरू छन् । हाल रहेको पुलको उत्तरतर्फ नेपालकै पहिलो सिग्नेचर पुल बनिरहेको छ । निर्माणको ठेक्का पाएको तुँदी कन्सट्रक्सनले गत मंसिरदेखि निर्माणको काम थालेको हो ।
अहिले ३८ मिटर गहिराइ रहेको टेस्ट पाइलको काम सकिएको छ । नारायणगढतर्फ टेस्टिङको काम भइरहेको छ । यो पुल निर्माणको लागि २०८० जेठ १९ मा सम्झौता भएको थियो । २०८१ वैशाख ३१ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले पुलको डिजाइनसम्बन्धी काम बाँकी छँदै शिलान्यास गर्नुभएको थियो ।
पुलको डिजाइन स्वीकृति गत कात्तिक १८ मा मात्रै भएको हो। त्यसपछि पुल निर्माणका लागि फिल्डमा कामदार र मेसिन औजार राखियो । सम्झौताअनुसार यतिबेला पुल निर्माणको सबै काम सम्पन्न हुनुपर्ने हो । तर, पुलको डिजाइन स्वीकृतिमै ढिलाइ हुँदा अहिले भौतिक प्रगति नगन्य छ भने आर्थिक प्रगति करिब ७ प्रतिशत हाराहारीमा छ ।
काम अघि बढिसकेकाले अबको तीन वर्षभित्रमा पुल बनाइसक्ने निर्माण पक्षको तयारीको छ । पुलको पिल्लरको भारवहन क्षमतासम्बन्धी परीक्षण भएका छन्। फिल्डमै गर्नुपर्ने परीक्षणका काम पूरा भए। अब संरचना निर्माणका काम अगाडि बढाइँदै छ ।
पुलको दुईतर्फ मुख्य टावर रहनेछन्। पुल सुरु र अन्त्य हुने ठाउँको सय मिटरको फरकमा टावर रहनेछन्। अहिले त्यसको संरचना निर्माणको काम भइरहेको छ। दुईवटा टावरको बीचको दूरी २२० मिटर रहनेछ। पुलको कुल लम्बाइ ४ सय २० मिटर हुनेछ।
यो पुल जल यातायात सञ्चालन गर्न मिल्ने गरेर बनाइँदैछ। नेपालकै पहिलो आइकोनिक ब्रिजको रुपमा निर्माण गर्न लागिएको यो पुलको कुल लागत एक अर्ब ६८ करोड रुपैयाँ छ। पुल निर्माणका लागि नारायणगढ र गैंडाकोटतर्फ दुई/दुईवटा गरेर चारवटा एस्काभेटर, ६० टनको एउटा क्रेनसँगै अन्य तीनवटा ठूला मेसिन खटाइएको छ ।
अहिले प्रि-मनसुनमै नारायणी नदी बढ्न थालेको छ। जसका कारण यो पुल निर्माणमा थप ढिलाइ हुने देखिन्छ ।